Palpa Dainik
बुधबार, बैशाख ०२, २०८३  |  April 15, 2026
×

पाल्पा-रामपुर नगरपालिकाले आगलागीका घटना न्यूनीकरण र नियन्त्रणका लागि सुरक्षाकर्मी तथा कर्मचारीहरूलाई विशेष प्रशिक्षण प्रदान गरेको छ। गर्मी र सुख्खा मौसमसँगै बढ्न सक्ने आगलागी र वन डढेलोको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले नगर प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका साथै विपद् व्यवस्थापनमा खटिने कर्मचारीहरूलाई लक्षित गरी यो तालिम आयोजना गरेको हो।

तालिमका क्रममा सहभागीहरूलाई अग्नि नियन्त्रक यन्त्रको सही प्रयोग, दमकल सञ्चालन गर्ने विधि र विभिन्न परिस्थितिमा आगो निभाउने प्रविधिबारे विस्तृत जानकारी दिइएको थियो। विशेषगरी घरको भान्छामा ग्यास सिलिन्डरबाट हुने आगलागी कसरी नियन्त्रण गर्ने, विद्युतीय उपकरणबाट लाग्ने आगो कसरी निभाउने र वन डढेलो रोक्न कस्ता सामग्री प्रयोग गर्ने भन्नेबारे प्रयोगात्मक अभ्यास समेत गराइएको थियो।

कार्यक्रमको सहजीकरण गर्दै दुर्गा फायर एक्स्टिङगुइजर एण्ड रिफिलिङ बुटवलका श्याम कुँवरले आगो नियन्त्रणमा खटिँदा सुरक्षा र संयमता सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले वन तथा अन्य स्थानको प्रकृति र भूगोल हेरेर मात्र दमकलको प्रयोग गर्न सुझाव दिँदै अग्नि नियन्त्रक यन्त्रमा हुने विभिन्न पाउडरहरूको प्रयोगबारे स्पष्ट पार्नुभयो।

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लाल बहादुर सुनारले मानवीय लापरवाहीका कारण आगोले ठूलो क्षति पुर्‍याउने गरेको उल्लेख गर्नुभयो। उहाँले ग्यासको रेगुलेटर खुल्ला राख्ने, विद्युतीय सामान लामो समय चार्जमा छोड्ने र आगोको प्रयोगपछि राम्ररी ननिभाउने जस्ता बानीले दुर्घटना निम्त्याउने भन्दै विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो।

सब डिभिजन वन कार्यालय रामपुरका प्रमुख मेघनाथ काफ्लेले वन डढेलो नियन्त्रण गर्नुभन्दा लाग्नै नदिनु उत्तम हुनेमा जोड दिनुभयो। उहाँले डढेलोले पारिस्थितिक प्रणाली र वन्यजन्तुको बासस्थानमा पार्ने असरबारे चर्चा गर्दै मानवीय सचेतना र पूर्व तयारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

विपद व्यवस्थापन शाखाका संयोजक एवं वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाले सम्भावित विपदबाट हुने जनधनको क्षति कम गर्न नगरपालिकाले यो तालिमको आयोजना गरेको जानकारी दिनुभयो। रामपुर नगरपालिकाको प्राङ्गणमा भएको उक्त कार्यक्रममा आगलागी नियन्त्रणका विभिन्न उपायहरूको प्रत्यक्ष प्रदर्शन समेत गरिएको थियो।

सम्बन्धित समाचार