Palpa Dainik
सोमबार, जेठ ११, २०८३  |  May 25, 2026
×

पाल्पा-आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनको आयोजनामा रैनादेवी छहरा गाउँपालिकामा ‘स्वस्थकर जीवनशैली प्रवर्द्धनका लागि गृहणीहरूको भान्सा सुधार कार्यक्रम’ सम्पन्न भएको छ। रैनादेवी छहरा गाउँपालिका कार्यालयको सभाकक्षमा आयोजित सो कार्यक्रममा खानपिनको शैलीमा सुधार ल्याई नसर्ने रोगहरू न्यूनीकरण गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रमको अध्यक्षता पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनका निमित्त प्रमुख माधव प्रसाद बस्यालले गर्नुभएको थियो भने प्रमुख अतिथिमा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई रहनुभएको थियो। यस्तै विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समितिका सदस्य बिष्णु घिमिरे तथा अतिथिका रूपमा सामाजिक विकास समितिका संयोजक प्रदिप पौडेल र प्रमुख प्रशासकीय अधिकृत बिबेक रणपाल परियारको उपस्थिति रहेको थियो।

प्रशिक्षणका क्रममा अस्वस्थकर खानपिनलाई निरुत्साहित गर्दै परम्परागत परिकार र रैथाने अन्नबालीहरूको संरक्षणमा जोड दिइएको थियो। प्रत्येक घरको भान्सामा आहार विज्ञानका सामान्य नियमहरू व्यवहारमा उतार्न सकेमा मधुमेह र उच्च रक्तचाप जस्ता नसर्ने रोगहरूको रोकथाममा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरिएको थियो।

कूल ३० जना गृहणीहरूको सक्रिय सहभागिता रहेको सो कार्यक्रममा डा. रोमहर्ष नेपाल, डा. हौसला धिताल, डा. शिशिर कुमार पटेल र डा. विक्रम मलेगोले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको सञ्चालन पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रकी वैध निरीक्षक सरिता के.सी. गोदारले गर्नुभएको थियो।

सम्बन्धित समाचार