Palpa Dainik
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026
×

दोभान-लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पाल्पा जिल्लाको दोभानमा सहिद चुनुमाया गुरुङ (चेनी) को शालिक अनावरण गरेका छन्। सहिद चुनुमायाको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले स्थापित यस शालिक अनावरण कार्यक्रममा विभिन्न राजनीतिक व्यक्तित्व, स्थानीयवासी, तथा सहिद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले भने, “सहिद चुनुमायाको बलिदानले नेपालमा गणतन्त्र स्थापनाको मार्ग प्रशस्त गरेको छ। यस शालिकले उनका योगदानलाई सधैं सम्झाउनेछ। सहिदहरूको बलिदानलाई स्मरण गर्दै समतामूलक समाज निर्माण गर्नु हामी सबैको दायित्व हो।”

सहिद चुनुमाया गुरुङ: संघर्ष र बलिदान

चुनुमाया गुरुङ पाल्पाको दोभानमा एक किसान परिवारमा जन्मेकी थिइन्। समाजमा व्याप्त अन्याय, विभेद, र असमानताविरुद्ध संघर्ष गर्ने अठोटका साथ उनी माओवादी सशस्त्र आन्दोलनमा सक्रिय भइन्। २०५२ सालमा सुरू भएको युद्धमा उनी पूर्णकालीन कार्यकर्ताका रूपमा संलग्न भइन्।

उनी अखिल नेपाल जनसांस्कृतिक महासंघकी केन्द्रीय सदस्य, नेकपा (माओवादी) को वरिष्ठ जिल्ला सदस्य तथा क्रान्तिकारी जनपरिषद्को केन्द्रीय सदस्य थिइन्। सांस्कृतिक क्षेत्रमा विशेष रुचि भएकी उनले विद्यालय जीवनमै प्रगतिशील गीत गाउने, नृत्य गर्ने तथा जनचेतना फैलाउने कार्यमा सक्रियता देखाएकी थिइन्।

२०५२ देखि २०५३ सालसम्म उनले रोल्पा, रुकुमका गाउँबस्तीहरूमा सांस्कृतिक आन्दोलनको नेतृत्व गरिन्। उनका चर्चित गीत “प्यारो जलजला” र कविता “बेलिसरा” नेपाली जनताको संघर्षको प्रतीक बनेका थिए।

२०५८ साल माघ २३ गते नेपाली सेना र प्रहरीले उनलाई कास्कीको भरतपोखरीबाट गिरफ्तार गर्‍यो। त्यसपछि उनलाई पोखरा फूलबारी ब्यारेकमा चरम यातना दिइयो। २०५९ असार ८ गते राति बागलुङ-पोखरा सडक खण्डमा उनलाई गोली हानी हत्या गरिएको माओवादी पक्षको दाबी छ।

सहिद चुनुमाया गुरुङको सम्मानमा विशेष पहल

सहिद चुनुमाया गुरुङको शालिक अनावरण कार्यक्रम ऐतिहासिक महत्त्वको रहेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा सहभागी नेताहरूले सहिदका सपना पूरा गर्न सरकारलाई विशेष योजना ल्याउन आग्रह गरे। सहिद परिवारका सदस्यहरूले उचित राहत, रोजगारीको अवसर, र सामाजिक सुरक्षाको प्रत्याभूति गराउन माग गरे।

शालिक अनावरणपछि सहिद चुनुमाया गुरुङको परिवारलाई सम्मान गरिएको थियो। कार्यक्रमको समापनमा सहिदहरूको बलिदानलाई सधैं स्मरण गर्दै उनीहरूले देखाएको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरियो।

सम्बन्धित समाचार