पाल्पा – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको स्वतन्त्र विद्यार्थी युनियनले बजारमा देखिएको ग्यासको कृत्रिम अभाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र विद्यार्थी सहुलियत कार्यान्वयनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय पाल्पाको ध्यानाकर्षण गराएको छ।
स्ववियु अध्यक्ष मिलन घर्ती मगरद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउँदै विद्यार्थीहरूले पछिल्लो समय सिर्जना भएका जनसरोकारका समस्या समाधानका लागि तत्काल कदम चाल्न माग गरेका छन्।
अन्तर्राष्ट्रिय परिस्थितिलाई बहाना बनाएर बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको र ठूलो परिमाणमा ग्यास सिलिन्डरहरू भण्डारण गरेर उपभोक्तामाथि अन्याय गरिएको स्ववियुको ठहर छ। यसरी सिर्जना गरिएको अभावले विद्यार्थी, मजदुर र न्यून आय भएका सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको भन्दै प्रशासनलाई तत्काल बजार अनुगमन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरिएको छ।
त्यस्तै, नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले जनतामा थप आर्थिक भार थोपरेको उल्लेख गर्दै स्ववियुले उक्त निर्णय फिर्ता लिन वा कर समायोजनमार्फत राहत प्रदान गर्न माग गरेको छ।
ध्यानाकर्षण पत्रमा विद्यार्थी आन्दोलनको उपलब्धि स्वरूप प्राप्त भएको यातायात भाडामा ४५ प्रतिशत छुटको व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नभएको प्रति पनि गम्भीर आपत्ति जनाइएको छ।
संविधानले प्रत्याभूत गरेका अधिकारहरू कागजमा मात्र सीमित नगरी व्यवहारमा उतार्न र विद्यार्थीहरूलाई सहुलियतको अनुभूति गराउन प्रशासनको ध्यानाकर्षण गराइएको त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको स्ववियु अध्यक्ष मिलन घर्ती मगर बताए ।
स्ववियुले अघि सारेका मागहरूलाई बेवास्ता गरिएमा विद्यार्थी समुदाय र आम नागरिक शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ।
























