पाल्पा-पाल्पाको तानसेन नगरपालिका–७ स्थित तानसेन बहुमुखी क्याम्पसमा विद्यार्थी तथा प्राध्यापकहरूका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा पछिल्लो समय बढ्दै गएको अनलाइन ठगी र सडक दुर्घटना न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो ।
साइबर सुरक्षा र स्क्याम सचेतना जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले प्रविधिको दुरुपयोग गरी हुने विभिन्न प्रकारका ठगीबाट कसरी जोगिने भन्ने विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले शंकास्पद लिङ्कहरू नखोल्न र आफ्नो गोप्य जानकारी कसैलाई नदिन आग्रह गर्नुभयो ।
सडक सुरक्षा तथा ट्राफिक नियम प्रहरी वरिष्ठ नायब निरीक्षक खेमानन्द पंगेनीले सडक सुरक्षा र ट्राफिक नियमको पालनाबारे प्रशिक्षण दिनुभएको थियो । विद्यार्थीहरूलाई सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी र ट्राफिक सङ्केतहरूको महत्त्वबारे जानकारी गराइएको थियो ।
सहभागीहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक रूपमा सचेत रहन यस्ता कार्यक्रमहरू फलदायी हुने विश्वास व्यक्त गरेको क्याम्पस प्रमुख पुष्करराज रेग्मीले बताउनुभयो । क्याम्पस प्रशासनले प्रहरी प्रशासनको यो कदमको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको छ ।
























