पाल्पा-पाल्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ४ सिधाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ खैरेनीका २६ वर्षीय सुनिल नेपाली रहेका छन्।
शनिबार बेलुका करिब ६ बजे झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर अचानक ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनालगत्तै चालकसहित चार जना पुरुष घाइते भएका थिए।
घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकोमा उपचारका क्रममा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी माथाबाट प्रहरी सहायक निरीक्षक थमन पराजुलीको कमाण्डमा टोली खटिएको थियो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।























