पाल्पा-माथागढी गाउँपालिका–७ रहबासमा शनिबार बेलुका भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा भैरहवामा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । यसअघि शनिबार राति नै अर्घाखाँचीको सितगङ्गा–४ सिधाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले पुष्टि गरेको छ ।
झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर अचानक ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटना लगत्तै चालकसहित चारै जनालाई उद्धार गरी तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए भने गम्भीर अवस्थामा रहेका राजन चिदीलाई थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको थियो । उपचारका क्रममा उनको पनि निधन भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार तीव्र गति वा प्राविधिक गडबडीका कारण ब्रेक फेल भई टिपर अनियन्त्रित भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाका कारण सिङ्गो गाउँ र आफन्तजन यतिबेला शोकमा डुबेका छन् । प्रहरीले घटनाका बारेमा थप विस्तृत विवरण संकलन गरिरहेको र मृतकहरूको शव परीक्षणका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । पाल्पाका ग्रामीण सडकहरूमा बढ्दो सवारी चाप र भौगोलिक कठिनाइका कारण हुने यस्ता दुर्घटनाले सडक सुरक्षामा थप चुनौती थपेको छ ।























