Palpa Dainik
बुधबार, चैत्र १८, २०८२  |  April 1, 2026
×

पाल्पा-जिल्लाको माथागढी गाउँपालिका–१, चिदीपानीमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत कृषि क्षेत्रतर्फ रासायनिक विषादीको प्रयोग न्यूनीकरण तथा वैकल्पिक उपाय अवलम्बन सम्बन्धी एकदिने अगुवा कृषक स्तरको तालिम सम्पन्न भएको छ।
शिक्षा, स्वास्थ्य, कृषि, भेटेरिनरी, खानेपानी तथा सरसफाइ, सुशासन र पोषण गरी सात वटा क्षेत्र समेटिएको उक्त कार्यक्रम वडा कार्यालय चिदीपानीमा सञ्चालन गरिएको हो। तालिममा मानव स्वास्थ्य तथा वातावरणमा रासायनिक विषादीले पार्ने नकारात्मक प्रभाव, त्यसको न्यूनीकरणका उपाय, जैविक तथा वानस्पतिक विषादीको प्रयोग, साथै पासो (ट्र्याप र ल्युर) सम्बन्धी प्रदर्शनात्मक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता माथागढी गाउँपालिका कार्यपालिका सदस्य तुल्सा न्यौपानेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. १ का अध्यक्ष राजकुमार पन्थीको उपस्थिति रहेको थियो। सो अवसरमा प्रमुख अतिथि पन्थीले रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य, माटो र वातावरणमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै अबको कृषि प्रणाली जैविक, सुरक्षित र दिगो हुनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय किसानलाई वैकल्पिक कृषि अभ्यासमा अभ्यस्त गराउन यस्ता तालिमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा वडा सदस्यहरू मश्राङ्गी थापा र लिलाकुमारी विक कृषि अधिकृत समिक्षा ढकाल शसि बिस्ट वडा सचिब राजु ज्ञवाली कृषि प्राबिधिक खुम सुनारी लगाएत करिब ६० जना अगुवा कृषकहरूको सक्रिय सहभागिता रहेको थियो।
यस तालिमबाट रासायनिक विषादीको प्रयोग घटाई जैविक तथा वातावरणमैत्री कृषि अभ्यासको विस्तार हुने अपेक्षा गरिएको छ। कार्यक्रमको सहजीकरण समिक्षा ढकाल र सशि बिस्टले गर्नुभएको थियो भने सञ्चालन देउकीमाया बयम्बुले गर्नुभएको हो।
सम्बन्धित समाचार