पाल्पा-आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी देशभर बढिरहँदा पाल्पा क्षेत्र नं. २ मा भने भिन्न दृश्य देखिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू गाउँ-बस्तीमा मतदाता रिझाउन जानुको साटो तानसेनमा आयोजित एक साझा संवाद कार्यक्रममा झुल्किएका छन्।
नेतृत्व मिडिया प्रालिको आयोजनामा भएको ‘समसामयिक नेतृत्व संवाद’ मा नेपाली कांग्रेसका उम्मेदवारहरू हिमालदत्त श्रेष्ठ, नेकपाका उम्मेदवारहरू सोम प्रसाद पाण्डेय र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारहरू डुल बहादुर कुँवरले एउटै मञ्चबाट पाल्पाको विकास र समृद्धिको खाका प्रस्तुत गरेका हुन्।
अनुभवी नेता सोम प्रसाद पाण्डेयले मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई ‘विषम’ संज्ञा दिँदै संविधान रक्षालाई आफ्नो मुख्य मुद्दा बनाउनुभएको छ। उहाँले भन्नुभयो, “२०७२ को संविधान कतै अँध्यारो कोठामा बसेर समाप्त गर्ने कोसिस त भइरहेको छैन? त्यसको बचाउ र मुलुकको सुरक्षित अवतरणका लागि मेरो उम्मेदवारी हो।” उहाँले सिद्धबाबा सुरुङमार्ग र पाल्पाको पूर्वाधार विकासमा आफ्नो अनुभव निर्णायक हुने दाबी गर्नुभयो।
कांग्रेसका युवा उम्मेदवार हिमालदत्त श्रेष्ठले ‘जेनजी’ आन्दोलनको भावना र युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्न निर्वाचनमा होमिएको बताउनुभयो। “शत्रुगत व्यवहार अन्त्य गरी आर्थिक समृद्धिका लागि मित्रवत प्रतिस्पर्धा हाम्रो संकल्प हो,” श्रेष्ठले भन्नुभयो। उहाँले पाल्पालाई पर्यटन, शिक्षा र कृषिको ‘हब’ बनाउँदै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राप्रपा उम्मेदवार डुल बहादुर कुँवरले ५ वर्ष जिल्ला विकास समितिको सभापति हुँदा गरेको निष्पक्ष कार्यलाई चुनावी आधार बनाउनुभएको छ। उहाँले राज्यको पुनःसंरचना, सांसद संख्यामा कटौती र भ्रष्टाचारमुक्त समाजको आवश्यकता औंल्याउनुभयो। कुँवरले भन्नुभयो, “देश संकटमा छ, कुशासन र बेरोजगारी अन्त्य गर्न राज्य संयन्त्रमा ठूलो फेरबदल आवश्यक छ।”
उम्मेदवारहरूलाई एकै स्थानमा राखेर संवाद गराउनुको मुख्य उद्देश्य नागरिकले उम्मेदवारका चुनावी एजेण्डाहरू मिडियामार्फत प्रत्यक्ष रूपमा थाहा पाउन सकून् भन्ने रहेको नेतृत्व मिडिया प्रालिका सञ्चालक गोविन्द भट्टराईले जानकारी दिनुभयो।
























