पाल्पा- तिनाउ गाउँपालिकाको आयोजना तथा प्रदेश सुशासन केन्द्र, नेपालगञ्ज, बाँकेको सहजीकरणमा पाल्पा र गुल्मी जिल्लाका स्थानीय तहका न्यायिक समितिका संयोजक, उपप्रमुख तथा उपाध्यक्षहरूबीचको विशेष अन्तर्क्रिया कार्यक्रम तिनाउमा सम्पन्न भएको छ।
तिनाउ गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा दुवै जिल्लाका सबै स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, न्यायिक समितिका उजुरी प्रशासक, कार्यपालिका सदस्य र कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अन्तर्क्रिया कार्यक्रममा प्रशासनविद् काशिराज दाहालले मुख्य सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले स्थानीय तहको न्यायिक अधिकार, कार्यक्षेत्र, न्याय सम्पादनमा देखिने व्यावहारिक जटिलताहरू र त्यसका कानुनी समाधानका पाटाहरूबारे सहभागीहरूलाई विस्तृत जानकारी गराउनुभएको थियो। कार्यक्रममा प्रदेश सुशासन केन्द्रका लेखा अधिकृत धुव्र कुमार खत्री र तालिम समन्वय विश्लेषक विष्णु न्यौपानेको समेत सक्रिय सहभागिता रहेको थियो।
तिनाउ गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्षले प्रमुख अतिथिको रूपमा शुभकामना मन्तव्य राख्नुभएको थियो। अध्यक्षले स्थानीय तहमा न्यायको पहुँच पुर्याउन र मेलमिलापको माध्यमबाट समाजलाई जोड्न यो अन्तर्क्रियाले नयाँ मार्ग कोर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले तिनाउ गाउँपालिका सधैँ जनताका अपेक्षा पूरा गर्न लागिपरेको बताउनुभयो। सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले गाउँपालिकाले सम्पादन गरेका असल अभ्यासहरूको भिडियो प्रस्तुत गर्दै जनप्रतिनिधिहरूले देखेका सपनालाई व्यवहारमा उतार्न कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा गुल्मी जिल्लाको प्रतिनिधित्व गर्दै सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामुले कार्यक्रमको सुरुवात र आतिथ्यताका लागि तिनाउ गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो। त्यसैगरी, पाल्पा जिल्लाको तर्फबाट तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा सिंजालीले न्यायिक समितिको कामलाई थप प्रभावकारी र जनमुखी बनाउन आफूहरू सक्रिय रहने प्रतिबद्धता जाहेर गर्नुभयो।
कार्यक्रमको समापनमा ‘तिनाउ घोषणापत्र–२०८२’ जारी गरिएको छ। उक्त घोषणापत्रमार्फत आगामी फागुन २१ गतेको निर्वाचनपछि अन्तर्क्रियाको अर्को संस्करण गुल्मीको रेसुङ्गा नगरपालिकामा सञ्चालन गर्ने निर्णय गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
























