Palpa Dainik
मंगलबार, चैत्र १७, २०८२  |  March 31, 2026
×

पाल्पा-आगामी फागुन १ गतेदेखि १० गतेसम्म बगनासकाली-१, चिलाङ्दी खेल मैदानमा ‘दोस्रो बगनासकाली महोत्सव २०८२’ सञ्चालन हुने भएको छ।

स्थानीय उत्पादनको बजारीकरण, भाषा, कला, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला महोत्सव सञ्चालन कार्यविधि २०८२ अनुसार सार्वजनिक सूचनामार्फत न्यु हिमाली युवा क्लबसँग सम्झौता भई महोत्सवको तयारी कार्य अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीका अनुसार यो महोत्सवले बगनासकाली मात्र नभई समग्र पाल्पा जिल्लाकै पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुर्‍याउने विश्वास लिइएको छ।

महोत्सव सम्वन्धी पत्रकार भेटघाटमा अध्यक्ष चिदीले न्यु हिमाली युवा क्लब आयोजनामा,  बगनासकाली गाउँपालिका संरक्षक रहने महोत्सवमा १०९ वटा प्रदर्शनी तथा व्यापारिक स्टलहरू, १० वटा होटल रेष्टुरेन्ट, बाल उद्यान र अटोमोबाइलका स्टलहरू रहने बताइन् । विशेष आकर्षणका रूपमा स्थानीय किसानहरूले उत्पादन गरेको दूधको ताजा कुराउनी र खिर बगनासकालीमै निर्मित दुना टपरीमा खुवाउने व्यवस्था मिलाइएको छ, जसको प्रबन्ध बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले गर्नेछ। साथै, महोत्सवमा स्थानीय कृषिको प्रदर्शनी, विद्यार्थीहरूले निर्माण गरेका शैक्षिक सामग्री र घरेलु तथा मेड्पा कार्यक्रमका स्टलहरू समेत राखिनेछन्।

गाउँपालिका उपाध्यक्ष हरि पाठकका अनुसार स्थानीय उद्यमशीलताको प्रवर्द्धन र राजस्व अभिवृद्धि गर्ने हेतुले सञ्चालन गर्न लागिएको यस महोत्सवको मुख्य आकर्षणमा राम्दी पुल, कुँडुले घर र कृत्रिम तालको प्रतिकृति रहनेछन्। सांस्कृतिक कार्यक्रमतर्फ हरेक दिन स्थानीय कलाकारहरूलाई प्राथमिकता दिइनेछ भने राष्ट्रिय स्तरका कलाकारहरूको समेत बेजोड प्रस्तुति रहनेछ। महोत्सवको अवधिभर भजनकीर्तन, सामूहिक नृत्य र एकल लोक गायन प्रतियोगिता सञ्चालन गरिनेछ।

गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाका अनुसार महोत्सवको उद्घाटन फागुन १ गते बिहान ११ बजे झाँकी र्‍यालीसहित गरिने कार्यक्रम छ। उद्घाटनका अवसरमा कौरा, सोरठी, पञ्चेबाजा, झ्याउरे, भजन र पाङ्धुरे जस्ता स्थानीय कला संस्कृतिहरू प्रस्तुत गरिनेछन् भने उत्कृष्ट झाँकी समूहलाई आयोजक क्लबले पुरस्कारको समेत व्यवस्था गरेको छ। महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ टिकटदर कायम गरिएको छ।

सम्बन्धित समाचार