पाल्पा-रिब्दीकोट गाउँपालिका–४ भैरबस्थानमा कृषि तथा पशु उपज संकलन तथा बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।
भैरब उद्यमी महिला समूह रिब्दीकोट–४ भैरबस्थानको आयोजना, रिब्दीकोट कृषि परियोजनाको सहयोग तथा साना किसान कृषि सहकारी संस्था लि. रिब्दीकोट–३ खस्यौलीको समन्वयमा केन्द्र स्थापना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कार्कीले कृषि र पशुपालन क्षेत्रबाट कृषकहरूको आर्थिक अवस्था सुधार गर्न सकिने उल्लेख गरे । उनले उत्पादनमुखी कार्यक्रममार्फत स्थानीय कृषकलाई आत्मनिर्भर बनाउन गाउँपालिका सधैं प्रतिबद्ध रहेको बताए । यस्ता कृषि तथा पशुपालनसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउन उनले सबै कृषकलाई आह्वान गरे
नवस्थापित केन्द्रले स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा पशुजन्य वस्तुको संकलन, भण्डारण र बजारीकरणमा सहजता ल्याउने विश्वास गरिएको छ । यसबाट कृषकले आफ्नो उत्पादन उचित मूल्यमा बिक्री गर्न पाउने अपेक्षा छ ।
कार्यक्रममा वडा नं ४ का जनप्रतिनिधि, साना किसान कृषि सहकारी संस्थाका पदाधिकारी, महिला समूहका प्रतिनिधि तथा कृषक र कृषि समूहहरूको उपस्थिति रहेको थियो ।
























