Palpa Dainik
बुधबार, चैत्र १८, २०८२  |  April 1, 2026
×

पाल्पा -पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका र बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाबिच बिहीबार असल अभ्यास आदानप्रदान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बाग्लुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ प्रमुख अतिथि र रिब्दीकोट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारी विशिष्ट अतिथि थिए । कार्यक्रम रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा सम्पन्न भयो ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले हामीले कृषिलाई समृद्धिको मुख्य आधार बनाएका छौँ, सबै दलका जनप्रतिनिधिहरूको पूर्ण सहयोगले गर्दा नै हामीले यी उपलब्धि हासिल गर्न सकेका हौँ। कार्यपालिकामा चारवटा फरक राजनीतिक दलको सहभागिता भए तापनि कृषि र विकासका मुद्दामा सबैको साझा सहमति रहने गरेको उहाँको भनाइ थियो।

सो अवसरमा रिब्दीकोट गाउँपालिकाका तर्फबाट बाग्लुङ नगरपालिकाबाट पाल्नुभएका अतिथिहरुलाई स्वागत, सम्मान र मायाको चिनो प्रदान गरिएको थियो ।

कृषि, पशु र पर्यटन प्रवर्द्धनका क्षेत्रमा भएका असल अभ्यासहरु आदानप्रदान गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बाग्लुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए । उनले यी क्षेत्रमा रिब्दीकोट गाउँपालिकाले गरेका कामहरु अनुकरणीय रहेकाले नै यस कार्यक्रमका लागि यो गाउँपालिका छनौट गरिएको जानकारी दिए ।

कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत रुकलाल भट्टराईले गरेका थिए ।

कार्यक्रममा दुबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार