Palpa Dainik
बुधबार, चैत्र १८, २०८२  |  April 1, 2026
×

पाल्पा- रैनादेवी छहरा गाउँपालिकामा आगामी चैत्र ८ गतेदेखि सञ्चालन हुने आधारभूत तह उत्तीर्ण परीक्षा लाई लक्षित गरी केन्द्राध्यक्षहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले चैत्र १६ गतेसम्म चल्ने परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्य राखेको छ।

परीक्षालाई पूर्ण रूपमा मर्यादित, भयरहित र शान्त वातावरणमा सम्पन्न गराउनका लागि ३२ जना केन्द्राध्यक्षहरूलाई आवश्यक निर्देशन र अभिमुखीकरण प्रदान गरिएको छ। यस कार्यक्रमको सहजीकरण शिक्षा समितिका सदस्य झलक बहादुर रायमाझी र परीक्षा व्यवस्थापन समितिका संयोजक नरेन्द्र थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले गर्नुभएको थियो। सहभागी केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालनका प्राविधिक पक्ष, सुरक्षा सतर्कता र उत्तरपुस्तिका व्यवस्थापनका विषयमा विस्तृत जानकारी गराइएको छ।

यस वर्षको परीक्षामा रैनादेवी छहरा गाउँपालिका अन्तर्गतका कुल २७ वटा विद्यालयका विद्यार्थीहरू सहभागी हुँदैछन्। जसमा २१३ छात्रा र २०७ छात्र गरी कुल ४२० जना परीक्षार्थीहरू सम्मिलित हुने तथ्यांक रहेको छ। गाउँपालिकाले परीक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै कुनै पनि प्रकारको त्रुटि रहन नदिन र विद्यार्थीहरूलाई सहज वातावरणमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरूलाई आग्रह गरेको छ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल , शिक्षा समिति तथा परीक्षा व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति थियो।

सम्बन्धित समाचार