Palpa Dainik
मंगलबार, चैत्र १७, २०८२  |  March 31, 2026
×

पाल्पा-तिनाउ नदीको सिद्धबाबा ड्यामसाइड क्षेत्रमा पौडी खेल्ने क्रममा दुई जना भारतीय पर्यटक बेपत्ता भएका छन्।

आइतबार दिउँसो करिब १:३० बजेको समयमा तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड मुनि पौडी खेल्न गएका उत्तर प्रदेशको सन्तकबिर नगर जिल्लाका १७ वर्षीय अमान अन्सारी र १८ वर्षीय फरान अन्सारीलाई नदीले बगाएर बेपत्ता पारेको हो।

सात जनाको समूहमा घुम्न आएका उनीहरूमध्ये दुई जनालाई नदीको तीव्र बहाव र भुँवरीले करिब १५० मिटर तल पुर्‍याएर बेपत्ता पारेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटनाको जानकारी पाउनासाथ दोभान प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मोहन खड्काको नेतृत्वमा खटिएको तीन जनाको टोलीले प्रारम्भिक खोजी कार्य सुरु गरेको थियो।

दोभान प्रहरी चौकीका प्रहरीको प्रयासबाट बेपत्ता युवाहरू फेला नपरेपछि थप खोजीका लागि जिल्लाबाट सशस्त्र प्रहरी बलको ९ जनाको विशेष गोताखोर टोली घटनास्थलमा परिचालन गरिएको छ। हाल गोताखोर टोलीले नदीका विभिन्न क्षेत्रमा खोजी कार्य जारी राखेको छ।

वर्षायाम नभए तापनि तिनाउको ड्यामसाइड क्षेत्रमा हुने गहिरो खाडल र तीव्र बहावका कारण यो क्षेत्र पौडी खेल्नका लागि अत्यन्तै जोखिमपूर्ण मानिन्छ। प्रहरीले अन्य पर्यटकहरूलाई पनि नदीमा पस्दा सावधानी अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार