Palpa Dainik
मंगलबार, चैत्र १७, २०८२  |  March 31, 2026
×

पाल्पा-“कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौं” भन्ने मूल नाराका साथ तानसेन नगरपालिका–९, तिन्टीआँपमा चौथो कृषि मेला तथा पर्यटन प्रदर्शनी सम्पन्न भएको छ। मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका वडा नं. ९ को प्रवद्र्धनमा आयोजित यस मेलाले स्थानीय कृषि व्यवसाय, उद्यमशीलता र कृषि पर्यटनलाई उजागर गर्ने लक्ष्य राखेको थियो।

प्रदर्शनीमा किसानहरूले उत्पादन गरेका विभिन्न खाद्यान्न, ताजा तरकारी, फलफूल, दलहन, तिलहनका साथै केरा, तरुल, फर्सी, मकै र धानका विभिन्न प्रजातिहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए। सहकारीका अध्यक्ष घनश्याम घिमिरेले मेलामा स्थानीय घरेलु कृषि औजार र विभिन्न प्रजातिका बिरुवाहरू समेत आकर्षणको केन्द्र बनेको बताउनुभयो । प्रदर्शनीकै अवसरमा कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले माटो परीक्षण र बाली उपचार शिविर सञ्चालन गरी कृषकहरूलाई प्रत्यक्ष प्राविधिक सेवा प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि एवं तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले कृषि प्रदर्शनीले किसानको श्रमलाई उचित सम्मान दिने बताउनुभयो। उहाँले मदनपोखराले कृषि क्षेत्रमा देशभरमै छुट्टै पहिचान बनाएको चर्चा गर्दै नगरपालिकाले कृषि र पर्यटनको विकासलाई सदैव प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। यस्तै, वडाध्यक्ष राजेशकुमार अर्यालले किसानको मेहनतलाई प्रोत्साहित गर्न र स्थानीय उत्पादनको बजारीकरणमा समन्वय गर्न यस्ता मेलाले सेतुको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा कृषि क्षेत्रमा विशिष्ट योगदान पु¥याउने पदमराज पौडेल, तुल्सीदेवी गैरे, हरिश्चन्द्र भुसाल लगायतका अगुवा कृषकहरूलाई सम्मान गरिएको थियो। मेलामा टोल विकास समूहहरूको झाँकी प्रदर्शन, सांस्कृतिक प्रस्तुति तथा चर्चित लोक गायक शिरीष देवकोटा र हास्य कलाकार पुर्खे बाको मनोरञ्जनात्मक प्रस्तुतिले थप रौनक थपेको थियो।

सम्बन्धित समाचार