Palpa Dainik
आइतबार, भाद्र २८, २०८३  |  September 13, 2026
×

पाल्पा-सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन शुक्रबार सम्पन्न भएको छ। मञ्चका अध्यक्ष पदम गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।अधिवेशनले माधव अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र नं. १ का संघीय सांसद सन्दीप रानाले पाल्पा पर्यटकीय र उत्पादनका दृष्टिले उच्च सम्भावनायुक्त क्षेत्र भएकाले यहाँका स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धनमा सञ्चार माध्यमको सकारात्मक सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय क्यालेन्डरमा समावेश गरी राष्ट्रपतिको उपस्थिति गराउने र रामपुरलाई वैदिक सहरका रूपमा विकास गर्ने योजनामा मिडियाले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। साथै मिडिया र जनप्रतिनिधिबीच बलियो साझेदारी हुनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले सञ्चार क्षेत्र राजनीतिक आस्था र स्वार्थभन्दा माथि उठेर निष्पक्षता कायम राख्नुपर्ने बताउनुभयो भने अर्का प्रदेश सभा सदस्य खेमबहादुर सारुले सुशासन र समृद्धिका लागि जनप्रतिनिधि र मिडिया परिपूरकका रूपमा अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो।

विभिन्न राजनीतिक दलका तर्फबाट रास्वपाका उपसभापति सुमन गैरे, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगर, नेकपा पाल्पाका संयोजक नेत्रप्रसाद पाण्डेय र राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले मिडियाको सबलीकरण, दिगो सहकार्य र नीतिगत स्पष्टताको आवश्यकता औँल्याउनुभयो।

त्यस्तै स्थानीय तहका जनप्रतिनिधिहरू रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी र रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले निष्पक्ष खबरदारी, खोजमूलक समाचार र असल अभ्यासको आदानप्रदानले लोकतन्त्रलाई सुदृढ बनाउने धारणा व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, पूर्व अध्यक्षहरू गोविन्द भट्टराई र राजेश कुमार अर्याल तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीरमान सिंहले वास्तविक सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने र पत्रकारको पेसागत सुरक्षाका लागि ठोस कदम चालिनुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित समाचार