Palpa Dainik
शनिबार, भाद्र २७, २०८३  |  September 12, 2026
×

पाल्पा-रसुवागढी नाका लगायत आसपासका क्षेत्रमा मिति २०८३ भाद्र १० गते बिहान गएको अकल्पनीय र हृदयविदारक विपद्जन्य घटनाप्रति पाल्पाको रिब्दीकोट गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ ।

उक्त घट्नामा परि रिब्दीकोट गाउँपालिका वडा नं. ५ का कृष्ण बहादुर बस्याल र वडा नं. ३ का विकास नेपाल लगायत देशका विभिन्न भागका धेरै नागरिकहरू सम्पर्कविहीन भएका छन्। गाउँपालिकाले बेपत्ता नागरिकहरूको शीघ्र खोजतलास तथा सकुशल उद्धारको माग गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्‌बाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा कुल रु. ३१ लाख ५० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। जस अन्तर्गत गाउँपालिकाको कोषबाट रु. १ लाख ५० हजार, जनप्रतिनिधि, कार्यालय तथा मातहतका स्वास्थ्य संस्था एवम् विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूको १ महिनाको सेवा सुविधा वा तलबबाट अनुमानित रु. ३० लाख रकम कट्टा गरी योगदान गरिनेछ।

यस कठिन परिस्थितिमा उद्धार तथा राहत कार्यमा जुट्ने संघ, प्रदेश, स्थानीय सरकार, सुरक्षा निकाय र स्वयंसेवकहरूप्रति सम्मान व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण सरकारी, गैरसरकारी तथा निजी क्षेत्रलाई पनि आ-आफ्नो क्षमता अनुसार मानवीय सहयोगमा सहभागी हुन अपिल गरिएको छ। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।

सम्बन्धित समाचार