पाल्पा-अस्तित्व, ब्रह्माण्ड, जीवन, समय र समाजका आफ्नै अन्तर्दृष्टिका गहन चिन्तनदर्शनका कविता लेख्ने प्रखर कवि आर.बी. निश्चलको सातौँ काव्य कृति “ब्रह्माण्डको अन्त्य” प्रकाशन हुने भएको छ।
प्रकाशोन्मुख कृतिमा तीन खण्डमा ७२ कविता समेटिएकोे कविले जानकारी दिए । यसअघि कवि निश्चलका ‘मौन हिमाल’, ‘सपनाफूल’, ‘आँसु खस्दै गर्छ’, ‘पैताला पुकार’, ‘किस्ताकिस्तामा जिन्दगी’ र ‘उल्टो धार’ काव्यकृति प्रकाशित छन् । प्रकाशक संस्था इम्प्रिन्टका रमेश घोरासैनी भन्छन्ब्र-ह्माण्डको अन्तय कवितासङ्ग्रहमा कविको अनन्त कल्पनाको उडान देख्न त पाइन्छ नै ! साथै, अस्तित्वका बारेमा कवि निश्चलका आफ्नै धारणा र अनेकौँ काल्पनिक प्रश्न तथा उत्तर-के ब्रह्माण्डको अन्त्य हुन्छ ? हुन्छ भने केकसरी हुन्छ/कस्तो हुन्छ ? ब्रह्माण्डको अन्त्य हुनु के अस्तित्वको पनि अन्त्य हुनु हो ? सँग साक्षात्कार गर्न सकिन्छ ।
पुस्तकको बलर्बमा राजकुमार बानियाँ लेख्छन्आ-र.बी. निश्चलको नवीनतम कविताकृति “ब्रह्माण्डको अन्त्य” समसामयिक नेपाली कवितामा देखिएको एउटा उत्तेजक विस्फोट हो । समय र अस्तित्व अनि जीवन र परिवेशको गहिरो प्रतिध्वनिलाई कवि रुपकमार्फत निरन्तर प्रश्न गर्छन्मा-निस कहाँ सकिन्छ, पीडा कहाँ समाप्त हुन्छ र अन्त्यको भावना कहिले जन्मिन्छ ? यहाँ ‘अन्त्य’ कुनै विनाशको घोषणा वा भविष्यवाणी होइन; अस्तित्वको जटिल स्वरुपलाई बुझ्ने एउटा मानसिक अवस्थामात्र हो । यी कविताहरुले अन्त्यको कथा भन्दैनन्; बरू अन्त्यलाई बुझ्ने हाम्रो क्षमतालाई नै चुनौती दिन्छन् ।
मानवीय अनुभूति र संवेदनाहरुको काव्यिक दस्तावेज बनेका यी कवितामा कवि-मनको सूक्ष्म कम्पन, प्रतिकम्पन छ। यो केवल कवितासङ्ग्रह होइन, मानव अस्तित्वको सीमारेखामा उभिएको एक तीव्र आत्म-अन्वेषण हो । अस्तित्ववादी दृष्टिले “ब्रह्माण्डको अन्त्य” आफैंलाई बुझ्न खोज्दा आफूबाटै टाढिंदै गएको मानवीय विडम्बनाबोध हुन्छ । यी कविता ‘अस्तित्व’ र ‘अर्थ’ बीचको सङ्घर्षमा जन्मिएका हुन् ।
यी कविताले कुनै उत्तर दिनुको सट्टा पाठकभित्र नयाँनयाँ प्रश्न उमारिदिन्छन् । वास्तवमा ब्रह्माण्ड बाहिर छैन, आफैंभित्रै छ । ब्रह्माण्ड भौतिक परिधिभन्दा पनि ज्यादा आत्म–परिधि हो । कविता पढ्दा–पढ्दै बुझिन्छ— अन्त्य ‘अन्त्य हुने’ कुरामा होइन; ‘अन्त्यको बोध’मा हुन्छ । र, यही सुन्दर बोधले सम्पूर्ण कवितालाई दार्शनिक उचाइमा पुर्याएको छ । कवितासंग्रह दशैँअघि बजारमा ल्याउने तयारी रहेको प्रकाशकले जनाएको छ।
























