रामपुर-कालीगण्डकी नदीको संरक्षण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउने उद्देश्यसहित स्थानीय तहहरू एकजुट भएका छन्।
कालीगण्डकी बचाउ अभियानअन्तर्गत पाल्पाको रामपुरमा विचारविमर्श कार्यक्रम सम्पन्न भएको छ। रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कालीगण्डकी बचाउ अभियानका संयोजक कृष्णप्रसाद पौडेलले कालीगण्डकी नदीको महत्त्व र संरक्षणको आवश्यकताबारे अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत चेतनप्रकाश पोखरेलले राख्नुभएको थियो भने सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी र निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलगायतले कालीगण्डकी नदीको संरक्षणका लागि साझा अभियान आवश्यक रहेको धारणा राख्नुभएको थियो।
कार्यक्रमले कालीगण्डकी नदीको प्राकृतिक स्वरूप र बहावलाई जोगाउँदै डाइभर्सन हुन नदिन विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। निर्णयअनुसार प्रत्येक पालिकाले कार्तिक मसान्तभित्र आफ्नो क्षेत्रका विभिन्न स्थानमा कालीगण्डकी संरक्षणसम्बन्धी होर्डिङ बोर्ड राख्ने भएका छन्।
त्यस्तै, नदी प्रदूषण नियन्त्रणका लागि प्रत्येक पालिकाले आफ्नो क्षेत्रलाई हरित क्षेत्रका रूपमा विकास गर्ने तथा संरक्षणका गतिविधिलाई प्राथमिकता दिने निर्णय गरिएको छ। यसैगरी, कालीगण्डकीको महत्त्व र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्न प्रत्येक वर्ष पालिकाहरूले क्रमशः कालीगण्डकी महोत्सव आयोजना गर्ने निर्णयसमेत गरिएको छ।
यस वर्ष रामपुर नगरपालिकाले आगामी मंसिर १२ गते शनिबार कालीगण्डकी पैदलमार्गमा पैदलयात्रासहित कालीगण्डकी महोत्सव आयोजना गर्ने निर्णय गरेको छ। कालीगण्डकी नदी केवल जलस्रोत मात्र नभई यस क्षेत्रको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षणमा स्थानीय सरकार, नागरिक समाज र आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो। कालीगण्डकी नदीको संरक्षण गर्दै भावी पुस्ताका लागि यसको प्राकृतिक अस्तित्व र महत्त्व जोगाउने लक्ष्यसहित स्थानीय तहहरू साझा अभियानमा जुटेका हुन्।
























