पाल्पा-जिल्ला समन्वय समिति पाल्पाले दुई दिनसम्म जिल्लाका सबै स्थानीय तह तथा विभिन्न विषयगत कार्यालयहरूको एकीकृत प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
जिल्लाका दुई नगरपालिका, आठ गाउँपालिका र विभिन्न सरकारी तथा गैरसरकारी गरी ३५ भन्दा बढी निकायले वर्षभरि गरेका कामकारबाही, वित्तीय अवस्था, सुशासन, पूर्वाधार, सामाजिक तथा आर्थिक विकास र वन वातावरण एवं विपद् व्यवस्थापनका क्षेत्रमा हासिल गरेका उपलब्धिबारे समीक्षा गरिएको हो।
सरकारी कामकारबाहीलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पालिका तथा कार्यालयहरूले आफ्ना असल अभ्यासहरू आदानप्रदान गरेका थिए। जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालका अनुसार यस समीक्षाले संघ, प्रदेश र स्थानीय तहका योजना, बजेट तथा कार्यक्रमबारे अन्तर-निकाय समन्वय र स्पष्टता कायम गर्न महत्त्वपूर्ण सहयोग पुर्याएको छ।
पालिका र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरूले वर्षभरिका प्रगति, विकास निर्माणमा देखिएका चुनौती र समाधानका उपाय समेटिएका प्रतिवेदन प्रस्तुत गरेका थिए। सो क्रममा पालिका प्रमुख तथा अध्यक्षहरूले काम गर्ने क्रममा उत्पन्न कानुनी तथा व्यावहारिक जटिलता, स्रोत-साधनको अभाव, बेरुजु फर्छ्यौटको समस्या र ऐन-नियम निर्माणमा परेका अप्ठ्याराबारे ध्यानाकर्षण गराएको समन्वय अधिकारी पुनराम पौडेलले जानकारी दिनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलराम घर्ती मगरले कानुन बनेर मात्रै नहुने बताए। ‘वन ऐन बनाएका थियौं’, उनले उदाहरण दिँदै भने, ‘संघीय सरकारको कानुनसँग बाझिएर कार्यान्वयन गर्न सकिएन।’
विज्ञबाट सहयोग लिएर छिमेकी पालिकाको सहमतिमा कानुन निर्माण गर्न उनले सुझाए।
लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री खेमबहादुर सारूले यहाँको पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर स्थानीय तहले काम गर्नुपर्ने बताए। पहुँचभन्दा पनि आश्यकताका आधारमा योजना तथा कार्यक्रम बनाउनुपर्ने उनले बताए।
तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तहले थोरै बजेटले धेरै काम गर्नुपर्ने बाध्यता रहेको हुँदा जनताको आकांक्षानुसार काम गर्न नसकिएको बताए।
प्राप्त सुझावलाई आत्मसात गरेर गाउँपालिकाको विकास गर्ने रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। आमनागरिकलाई दिने सेवा सुविधालाई प्रभावकारी बनाउने र आर्थिक अवस्थामा सवल बनाउने गरी काम गरिरहेको उनले बताए। स्थानीय सरकारसँग कुनै सहकार्य नगरी संघीय सरकारले कर्मचारी सरुवा गर्दा काम गर्न कठिनाइ भएको उनले गुनासो गरे।
कागजमाजस्तै व्यवहारमा विकास नभएको राष्ट्रिय स्वतन्त्र पाटीएका सभापति विष्णुप्रसाद भण्डारीले बताए। एसईईको नतिजालाई मात्र प्रगति मान्न हुँदैन। विद्यार्थी संख्या, शैक्षिक गुणस्तर ध्यान दिन उनले सुझाए। पाल्पालाई कृषि र पर्यटनको हब बनाउने गरी पालिकाले योजना बनाउनुपर्छ। कर्मचारी र ठेकेदारको मिलिमतोले विकासका कामले गति नलिएको उनले आरोप लगाए।
नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठले समीक्षा नतिजामुखी हुनुपर्ने बताए। पाल्पामा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर योजना र कार्यक्रम बनाउन आवश्यक छ। स्थानीय तहले आवश्यक कानुन निर्माण गरेर प्राथमिकताका आधारमा विकास गर्नुपर्ने उनले सुझाव दिए।
जिल्लाको विकासमा साझा एजेन्डा बनाएर अघि बढ्नुपर्ने नेकपा एमालेका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए। उत्पादनमुखी कार्यक्रममा स्थानीय तहले जोड दिनुपर्ने बताए।
नेपाली कम्युनिस्ट पार्टीका अनिलकिशोर घिमिरेले विकास कति भयो र कति जनता लाभान्वित भए भन्ने महत्वपूर्ण भएको बताए। जिल्लाको समग्र विकासका लागि योजना बैंक बनाएर अघि बढ्नुपर्ने बताए।
फर्म्याटमा गरिएको समीक्षाले प्रभावकारी नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवरले बताए। हिजो र आजको परिस्थितिमा भएका प्रगतिबारे समीक्षा हुनुपर्छ। विकासका लागि भावी साझा निष्कर्ष निकालेर अघि बढ्नुपर्ने उनले बताए।
जनताको भावनाअनुरूप विकास हुन नसकेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले बताए। जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने उनले बताए। अधिकांश विकास निर्माणका काममा ठेकेदारले समस्या दिने गरेको पाइएको छ। लापरबाही गर्ने ठेकेदारलाई तह लगाउने कुन सरकार हो? उनले प्रश्न गर्दै भने।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिम्मेवार व्यक्तिले नैतिक जिम्मेवार पूरा नगर्दा निराशा बढेको बताए। तलका कुरा नसुन्ने माथि गएर नजान्ने अवस्थाले मुलुक झनै जटिल अवस्थामा पुगेको उनले बताए।
कार्यक्रममा प्रदेश सभामुख तुलराम घर्ती मगर, संघीय सांसद सन्दीप राना, प्रदेश सांसद खेमबहादुर सारू, वीरबहादुर राना, इन्द्रा गहतराज, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न कार्यालयका प्रमुख, पत्रकार लगायत उपस्थित थिए।
























