Palpa Dainik
शुक्रबार, चैत्र २०, २०८२  |  April 3, 2026
×

पाल्पा । रम्भा गाउँपालिका–३, सिता पहाड नजिकैको सिद्धार्थ राजमार्गको छेउमा एक महिलाको बेवारिसे शव फेला परेपछि क्षेत्रमा सनसनी फैलिएको छ। शवको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको छ।

मंगलबार दिउँसोको समयमा सडकछेउको खोल्सामा घोप्टो परेको अवस्थामा एक बोलेरो चालकले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनसाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी होम प्रकाश चौधरीसहितको टोली पुगेको थियो। प्रहरीका अनुसार, शव अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी मधेशी मूलकी महिलाको हुन सक्ने अनुमान गरिएको छ। महिलाले निलो कुर्ता सलवार लगाएकी छिन्।

शवको अनुहार र टाउकोमा गम्भीर चोट देखिएको छ। घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा दुर्घटना नभई हत्या गरेर फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवन भट्टराईले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र छिट्टै सत्यतथ्य बाहिर ल्याउने बताएका छन्। हाल, एक प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घटनास्थलमा थप अनुसन्धान गरिरहेको छ।

हालसम्म शवको पहिचान हुन सकेको छैन। प्रहरीले शवको पहिचानका लागि विभिन्न प्रयास गरिरहेको छ। यो घटनाले स्थानीय बासिन्दामा त्रास सिर्जना गरेको छ र प्रहरीमाथि घटनाको चाँडो भन्दा चाँडो सुल्झाउने दबाब बढेको छ।

सम्बन्धित समाचार