Palpa Dainik
शुक्रबार, चैत्र २०, २०८२  |  April 3, 2026
×

पाल्पा-नेकपाका केन्द्रीय नेता तथा पाल्पा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सोम प्रसाद पाण्डेयले आगामी निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ६२ सिट जित्ने दाबी गर्नुभएको छ। पूर्वमन्त्री समेत रहनुभएका पाण्डेयले पार्टीले झण्डै २० लाख मत ल्याउने र फागुन २१ पछि सदनमा नेकपा पहिलो शक्तिको रूपमा उदय हुने उद्घोष गर्नुभयो।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा आयोजित वडा कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै पाण्डेयले अबको लडाइँ भ्रष्टाचारको अन्त्य, सुशासन र समृद्धिका लागि भएको बताउनुभयो। नेता पाण्डेयले देशमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब मुलुकलाई आर्थिक क्रान्तिको दिशामा लैजानुको विकल्प नरहेको उल्लेख गर्नुभयो।

उहाँले पाल्पा क्षेत्र नम्बर २ मा सिङ्गो पार्टी पङ्क्ति परिचालन भएको र आफू भारी मतका साथ विजयी हुनेमा ढुक्क रहेको बताउनुभयो। उहाँले भन्नुभयो,-“मुलुकलाई अग्रगामी परिवर्तन र समृद्धिको बाटोमा अगाडि बढाउन अब आर्थिक क्रान्ति आवश्यक छ। नेकपाले सोही उद्देश्यका साथ सुशासन र विकासलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएको छ।”

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य यादव बहादुर रायमाझीले  जनताको आशा र भरोसा नेकपाप्रति नै रहेकोले यो निर्वाचनबाट पार्टी एक नम्बरको शक्ति बन्ने र जेनजीको भावना अनुसार नै पार्टी अगाडि बढिरहेको बताउनुभयो।

नेकपाका केन्द्रीय सदस्य राजेन्द विश्वकर्माले देशभर नेकपाको पक्षमा जनलहर देखिएकाले उम्मेदवारहरूको जित सुनिश्चित रहेको बताउनुभयो।

कार्यक्रममा नेकपा रैनादेवी छहराका संयोजनक पदम सोमै र वाइसियल नेपाल, पाल्पाका सचिव कमल खत्री लगायतले नेकपाको जित सुनिश्चित गर्न आफूहरू ‘युवा शक्ति’ परिचालन गरेर अगाडि बढ्ने बताउनुभयो। उहाँहरूले गाउँ-गाउँमा युवाहरूलाई सक्रिय बनाउँदै चुनावी अभियानलाई सशक्त पार्ने प्रतिबद्धता जनाउनुभयो।

सम्बन्धित समाचार