पाल्पा-रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक जलेश्वरधाममा सञ्चालन भइरहेको शिव पुराण महायज्ञमा दाताहरूबाट सहयोग जुट्ने क्रम तीव्र बनेको छ। धार्मिक तथा सामाजिक उत्थानको पवित्र उद्देश्यका साथ सुरु गरिएको यस महायज्ञको पाँचौँ दिन मात्रै १० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको आयोजक समितिले जनाएको छ।
यही माघ २२ गतेदेखि विशेष अनुष्ठानका साथ सुरु भएको यो महायज्ञ आगामी फागुन ३ गतेसम्म निरन्तर चल्नेछ। महायज्ञमा ठूलो रकम दान गर्ने मनकारी दाताहरूको संख्या उल्लेख्य रहेको छ। स्थानीय स्तरमा सांस्कृतिक र सामाजिक जागरण ल्याउने लक्ष्य राखिएको यस कार्यक्रममा दैनिक रूपमा भक्तजनहरूको बाक्लो उपस्थिति रहने गरेको छ।
आर्थिक समितिका संयोजक प्रमुख कुँवरले महायज्ञप्रति जनसहभागिता र उत्साह बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार आगामी दिनहरूमा भक्तजनहरूको संख्या अझै बढ्ने र सहयोग संकलनको क्रमले थप उचाइ लिने छ। संकलित रकमले जलेश्वरधामको भौतिक विकास र सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउने छ।
























