Palpa Dainik
आइतबार, भाद्र २८, २०८३  |  September 13, 2026
×

पाल्पा-रिब्दीकोट गाउँपालिकामा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) लाई व्यवस्थित बनाउन निरीक्षकहरूको अभिमुखीकरण तथा प्रश्नपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा शिक्षा शाखा प्रमुख राजाराम भाटको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा शिक्षा स्रोत विज्ञ गोपाल के.सी., इन्जिनियरद्वय पुरन कार्की र बिपिन जी.सी. तथा कम्प्युटर अपरेटर कमल श्रीसको उपस्थिति रहेको थियो। यस वर्ष रिब्दीकोट गाउँपालिका भित्रका कुल २६७ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन्। ती विद्यार्थीहरूको परीक्षालाई निष्पक्ष र शान्त बनाउन २० जना निरीक्षकहरू छनौट गरी उनीहरूलाई आवश्यक जिम्मेवारी र निर्देशन प्रदान गरिएको छ।

शिक्षा शाखा प्रमुख राजाराम भाटले परीक्षालाई अत्यन्तै अनुशासित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न कडा निर्देशन दिनुभयो। उहाँले परीक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै निरीक्षकहरूलाई आफ्नो जिम्मेवारी इमानदारिताका साथ निभाउन आग्रह गर्नुभयो। साथै, परीक्षा अनुगमनका क्रममा कुनै पनि प्रकारको लापरबाही वा त्रुटि भेटिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जानकारी समेत गराइएको छ। यस अभिमुखीकरणले पालिकाको शैक्षिक गुणस्तर र परीक्षा प्रणालीको विश्वसनीयता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ।

सम्बन्धित समाचार