Palpa Dainik
बिहिबार, जेठ १४, २०८३  |  May 28, 2026
×

पाल्पा-रैनादेवी छ्हरा-४, अमलाबासका किसानहरू सुन्तला खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका किसानहरूले वार्षिक लाखौं रुपैयाँ कमाइरहेका छन्। 

यहाँ उत्पादित सुन्तला तानसेन, बुटवल, नारायणगढ, काठमाडौं हुँदै मधेस प्रदेशसम्म सुन्तला निर्यात हुन थालेको छ। रैनादेवी छ्हरा गाउँपालिकाको वडा नम्बर ४ विशेष रूपमा सुन्तला खेतीका लागि प्रख्यात छ। यहाँका उत्कृष्ट बगान भएका किसानहरूले वार्षिक २० लाखसम्म आम्दानी गर्न सफल भएका छन्। 

सुन्तला कृषक दुर्गाप्रसाद कोइरालाले आफ्नो पिता यमलाल कोइरालाले २०४० सालमा स्थापना गरेको “कोइराला मिश्रित फलफूल नर्सरी” मार्फत सुन्तला खेतीलाई उचाइमा पुर्‍याएका छन्। उनी वार्षिक १५ देखि २० लाखसम्म सुन्तलाका बिरुवा तथा फल बिक्री गर्छन्। उनले भने, “अर्काको देशमा गएर दुःख गर्नु भन्दा आफ्नै माटोमा मालिक बन्नु पर्छ। म यो पेशाबाट सन्तुष्ट छु।” अर्का कृषक टीकाराम पोखरेलले सुन्तला खेतीमा नयाँ प्रविधि आवश्यक रहेको बताउँदै आफ्नै बगैचामा थोपा सिँचाइ प्रविधि अपनाएका छन्। उनले भने, “कृषिमा नयाँ-नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ।  गाउँको विकासका लागि अरूको मुख ताक्नु हुँदैन। मैले यस पटक सुन्तला बिक्रीबाट चार लाख आम्दानी गरें।”

अर्का कृषक दामोदर घिमिरेले यस वर्ष सुन्तला बिक्रीबाट ९ लाख आम्दानी गरेको बताए। उनले करिब १०० क्विन्टल सुन्तला बिक्री गरेका थिए। अमलाबासमा करिब ३० घरधुरी किसानहरू व्यावसायिक रूपमा सुन्तला खेतीमा संलग्न छन्। यहाँ उत्पादन भएको सुन्तलाको बजारमा राम्रो माग रहेको सुन्तला व्यापारी मनु बगाले बताउँछन्। बगाले भन्छ्न, “छहरा-अमलाबासको सुन्तला भनेपछि बजारमा बिक्रीको कुनै समस्या हुँदैन।” 

रैनादेवी छ्हरा गाउँपालिकाको कृषि शाखा प्रमुख श्रीजना थापाका अनुसार, सुन्तला बगैचा स्थापनाका लागि उत्तर-पूर्व फर्किएको भूभाग, समुद्री सतहबाट १,००० देखि १,५०० मिटर उचाइ उपयुक्त मानिन्छ। सुन्तला खेतीले अमलाबासका किसानहरूलाई राम्रो आम्दानी दिलाउँदै गाउँको आर्थिक अवस्थामा सुधार ल्याइरहेको छ। आधुनिक प्रविधिको प्रयोग र बजार विस्तारसँगै यहाँका किसानहरूले भविष्यमा अझ राम्रो आर्थिक सम्भावना देखिरहेको बिज्ञको भनाइ छ ।‍

सम्बन्धित समाचार