Palpa Dainik
सोमबार, भाद्र २९, २०८३  |  September 14, 2026
×

पाल्पा – रिब्दीकोट गाउँपालिका–१, ख्याहा जोगीथुममा एक डेरावालको हत्या भएको छ। बुधबार बिहान मृत अवस्थामा भेटिएका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीलाई उनकै घरबेटीले हत्या गरेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार हत्या आरोपमा तानसेन नगरपालिका–११, साँचाका ३१ वर्षीय माधव विष्टलाई बिहीबार पक्राउ गरिएको छ।

बुढाथोकी केही समयदेखि विष्टको घरमा डेरा लिएर बस्दै आएका थिए। लेबरको काम गर्ने बुढाथोकी माघ २३ गते बुधबार बिहान ८ बजे आफ्नै डेरामा मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनको नाक, निधार, मुख तथा सुतेको खाटमा रगत लागेको पाइएकाले प्रहरीले थप अनुसन्धान गर्दा घरबेटी विष्टको संलग्नता खुलेको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिए।

मृतक बुढाथोकीको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा पोस्टमार्टम गराई परिवारलाई बुझाइएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ। विष्टलाई बिहीबार पाल्पा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

सम्बन्धित समाचार