तानसेन-तानसेन नगरपालिकाको आयोजनामा द्वन्द्व पीडितका लागि सिपमूलक तालिम अन्तर्गत व्यवसायिक लहरेबाली तथा कौसी खेती सम्बन्धी दुई दिने तालिम सोमबारदेखि सुरु भई सम्पन्न भएको छ।
तालिमको उद्घाटन गर्दै तानसेन नगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रतीक्षा गाहा सिङ्जालिले स्थानीय तहले द्वन्द्व पीडितका पीडा सम्बोधन गर्ने उद्देश्यले लक्षित कार्यक्रम ल्याएको बताए । उनले आगामी दिनमा नगरपालिकाले द्वन्द्व पीडितहरूको आवश्यकताअनुसारका थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरका १४ वटै वडामा विभिन्न प्रकारका सिपमूलक तालिम प्रदान गरी नगरबासीलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिए ।
तानसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा बहादुर थापाले तालिम केवल सिकाइमा सीमित नराखी व्यावहारिक रूपमा अपनाउन सहभागीलाई आग्रह गरे। उनले कौसी खेतीले परिवारलाई शुद्ध तथा ताजा तरकारी उपलब्ध गराउनुका साथै आयआर्जनको स्रोत बन्न सक्ने बताए।
त्यसैगरी, नगर प्रवक्ता यादव सिंह कार्कीले कौसी खेती तालिमको महत्त्वलाई जोड दिँदै नगरपालिकाले सञ्चालन गरेको सिपमूलक तालिमले आर्थिक भार कम गर्नुका साथै स्वच्छ तरकारी उत्पादनमा सहयोग पुग्ने उल्लेख । यसले भान्साबाट निस्कने कुहिने फोहोरको व्यवस्थापनमा पनि योगदान पुर्याउने बताए।
तालिममा नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले १७ जना सहभागीलाई प्रशिक्षण प्रदान गरिएको जानकारी दिए। उनका अनुसार तालिम पश्चात् सहभागीलाई मल उत्पादनका लागि विन, तरकारीको बीउ तथा कृषि औजार वितरण गरिनेछ। तालिमको सहजीकरण कृषि शाखा प्रमुख सरोज तिमिल्सिना, कृषि प्राविधिक आश्मा कार्की र पशु प्राविधिक दान बहादुर कुवरले गरेका थिए ।























