पाल्पा-तानसेन-९ मदनपोखरामा तेस्रो कृषि मेला प्रदर्शनी शनिबार भव्य रूपमा सम्पन्न भएको छ। मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न मेलाले कृषि व्यवसाय, कृषि उद्यम र कृषि पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
“कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौं” नाराका साथ आयोजित मेलामा ३५ वटा स्टल राखिएका थिए। तिनटी आँप खेलमैदानमा सञ्चालन भएको मेलामा कृषि बाली, बाख्रा, कुखुरा, रैथाने बाली, कृषि औजार, बीउबिजन लगायतका प्रदर्शनीहरू राखिएको थियो।
त्यसैगरी, पशु रोग निदान तथा गोबर परीक्षण, बाली रोग निदान शिविर, प्लान्ट क्लिनिक, माटो परीक्षण शिविर तथा कृषि उद्यम अनुभव आदानप्रदान जस्ता कार्यक्रमहरू मेलाको आकर्षण बने। सहकारीका अध्यक्ष घनश्याम घिमिरेका अनुसार मेलाले किसानहरूलाई आधुनिक कृषि प्रविधिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
मेलामा किसानहरूले आफैले बनाएका परिकार, कृषक समूहहरूको झाँकी र्याली, किसानकै गीत, नाटक र नृत्य प्रस्तुत गरेका थिए। मेलाले कृषि, संस्कार र समुदायलाई जोड्ने अवसर प्रदान गरेको वडा अध्यक्ष राजेशकुमार अर्यालले बताए।
मेला सम्पन्न गर्न जिल्लास्थित कृषि कार्यालय, वडा नं. ७, ८, ९ तथा सहकारीले संयुक्त रूपमा पाँच लाख रुपैयाँ खर्च गरेको अनुमान गरिएको छ। मेलाको अवसरमा उत्कृष्ट किसानलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको थियो।
तरकारी उत्पादनमा परिचित मदनपोखराबाट गत वर्ष ६ सय मेट्रिक टन तरकारी निर्यात हुँदा दुई करोड भन्दा बढीको कारोबार भएको थियो। यस वर्ष हालसम्म ४२२ मेट्रिक टन तरकारी निर्यात भइसकेको सहकारीका व्यवस्थापक अनिसा ढकालले जानकारी दिइन्।
कृषि मेलाले स्थानीय उत्पादन प्रवर्द्धन, आधुनिक कृषि प्रविधि हस्तान्तरण तथा कृषकहरूलाई नयाँ सम्भावनाबारे जागरूक बनाउने उद्देश्य पूरा गरेको आयोजकहरूले बताएका छन्।























