पाल्पा-पाल्पा जिल्लामा मौरीपालन व्यवसायले तीव्र गति लिँदै गएको छ। बगनासकाली गाउँपालिका–8, बराङदीका पशुपति बस्यालले मौरीपालन व्यवसायबाट उल्लेखनीय सफलता हासिल गरेका छन्। हिमाली बी कन्सर्नका सञ्चालकसमेत रहेका बस्यालले मह, मौरीका घार, मौरीसहितको घार तथा मौरीपालनका लागि आवश्यक सामग्री बिक्री गरेर वार्षिक दुई करोड रुपैयाँसम्मको कारोबार गर्दै आएका छन्। पाल्पासहित गुल्मी, रोल्पा, रुकुम, अछाम, गोरखा लगायत दर्जन बढी जिल्लामा उनले मौरीजन्य उत्पादन निर्यात गर्दै आएका छन्।
बस्यालका अनुसार मौरीपालन व्यवसायमा सरकारी संयन्त्रको सहयोग न्यून रहेको छ। उनले भने, “माग जहाँबाट आउँछ, त्यही अनुसारको निर्यात गर्ने गरेको छु। तर, व्यवसायिक मौरीपालनका लागि राज्यबाट उचित सहयोग प्राप्त भए यस क्षेत्रको सम्भावना अझै बढ्नेछ।”
नेपाल प्रहरीबाट निवृत्त व्यवसायीको सफल यात्रा
बगनासकाली गाउँपालिका–7, खानीगाउँ कल्लाबारीका केशव पचभैयाले पनि मौरीपालनबाट राम्रो आम्दानी गरिरहेका छन्। नेपाल प्रहरीबाट निवृत्त पचभैयाले पाँच वर्षअघि व्यवसायिक मौरीपालन सुरु गरेका थिए। सुरुमा चार लाख रुपैयाँको लगानीमा सयवटा मौरी घार किनेर व्यवसाय थालेका उनले अहिले वार्षिक २० देखि २९ लाख रुपैयाँसम्मको मौरीसहितको घार बिक्री गर्दै आएका छन्।
समूहगत मौरीपालनबाट डेढ करोडको कारोबार
बगनासकाली गाउँपालिका–7, खानीगाउँ बसुवाखोलाका गिरीप्रसाद गैरे रानीमहल मौरीपालन कृषक समूहका अध्यक्ष हुन्। २०७७ सालमा गठन भएको यो समूहमा ३१ जना सदस्य छन्। गैरेका अनुसार समूहले मह उत्पादनभन्दा मौरीसहितको गोला उत्पादनमा विशेष ध्यान दिएको छ।
“सरकारी सहयोग छैन, आफैंले जेबाट फाइदा हुन्छ त्यही गरिरहेका छौं,” गैरेले भने, “त्यसैले हाम्रो समूहले मौरी गोला उत्पादनमा केन्द्रित भएर वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गरिरहेको छ।” समूहको वार्षिक कारोबार डेढ करोड रुपैयाँसम्म पुग्ने गरेको छ।
सरकारी सहयोग भए मौरीपालन व्यवसाय अझै अघि बढ्ने सम्भावना
व्यवसायीहरूको सफलताले पाल्पामा मौरीपालनको सम्भावना उच्च रहेको पुष्टि गरेको छ। विज्ञहरूका अनुसार सरकारी सहयोग र प्रविधि हस्तान्तरण प्रभावकारी बनाइएमा स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक उन्नति गर्न मौरीपालन व्यवसाय मुख्य आधार बन्न सक्छ।























