Palpa Dainik
बिहिबार, साउन १४, २०८३  |  July 30, 2026
×

पाल्पा–नेपाली कांग्रेस पूर्वखोला गाउँपालिका कार्यसमितिको आयोजनामा प्रथम लोकतान्त्रिक महोत्सव पूर्वखोला गाउँपालिका–हाटबजार मैदान, रिङनेरह, पाल्पामा आयोजना गरिने भएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा महोत्सवका प्रमुख अतिथि हुने भएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिने यस महोत्सवको उद्देश्य लोकतन्त्रको सुदृढीकरण, स्थानीयस्तरमा प्रजातान्त्रिक चेतनाको अभिवृद्धि, स्वास्थ्य सचेतना र आर्थिक विकास प्रवर्द्धन गर्नु रहेको छ।

विविध कार्यक्रमहरू समावेश
महोत्सव अन्तर्गत विविध सांस्कृतिक कार्यक्रम, निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा स्थानीय उत्पादनको प्रदर्शनी मेला समावेश गरिनेछ। स्थानीय कलाकारहरूको प्रस्तुति, लोपोन्मुख परम्परागत नृत्य तथा गीत(संगीतले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्य सचेतनाको अभिवृद्धिका लागि निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिनेछ, जसबाट स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाउनेछन्। त्यस्तै, स्थानीय उत्पादनको प्रदर्शनी मेलाले किसान, उद्यमी र व्यवसायीहरूलाई आफ्नो उत्पादन प्रदर्शन तथा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नेछ, जसले स्थानीय आर्थिक गतिशीलता बढाउने विश्वास गरिएको छ।

राजनीतिक विचार(विमर्श
महामन्त्री गगन थापाले महोत्सवमा वर्तमान राजनीतिक परिस्थिति, लोकतन्त्रको भविष्य तथा नेपाली कांग्रेसको रणनीतिबारे आफ्नो विचार राख्नेछन्। यसले स्थानीयस्तरमा प्रजातान्त्रिक चेतना अभिवृद्धि गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

नेतृत्वको उत्साहजनक प्रतिक्रिया
नेपाली कांग्रेस पाल्पाले आइतबार जिल्ला कमिटी बैठक गरी कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले महोत्सवलाई ऐतिहासिक बनाउन सबैलाई सहभागिता जनाउन अपिल गर्नुभएको छ।

नेपाली कांग्रेस पूर्वखोला गाउँपालिकाका सभापति विष्णु देवी आचार्यले प्रथम लोकतान्त्रिक महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदै, गगन थापाको सहभागिताले कार्यक्रम अझ ऐतिहासिक र प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे । महोत्सवले स्थानीय संस्कृति, परम्परा तथा लोकतान्त्रिक मूल्यहरू उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताइएको छ।

सम्बन्धित समाचार