पाल्पा-रिब्दीकोट गाउँपालिका, वडा नं. ३, खस्यौलीमा “शहीद कैलाश स्मृति तथा कृषि संकलन केन्द्र” भवनको शिलान्यास गरिएको छ। उक्त केन्द्रको स्थापना स्थानीय कृषकहरूलाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउने तथा कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित गरिएको हो।
कार्यक्रम लोकनाथ शर्मा गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले भवनको शिलान्यास गर्नुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, वडा नं। ३ का वडा अध्यक्ष नारायण बहादुर के।सी।, विभिन्न जनप्रतिनिधिहरू, सम्बन्धित शाखाका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष कार्कीले कृषिलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादनको सही व्यवस्थापन गर्न सके किसानहरूलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरे । साथै, कृषि उत्पादनलाई बजारीकरण गर्दै किसानलाई सशक्त बनाउन कृषि संकलन केन्द्रको स्थापना महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
गाउँपालिकाले कृषिलाई मुख्य आधार मानेर विकासका योजनाहरू अघि बढाइरहेको छ। स्थानीय कृषकहरूको आर्थिक स्तर सुधार गर्दै कृषि उत्पादनलाई आधुनिकिकरण गर्ने लक्ष्यका साथ संकलन केन्द्र निर्माण कार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष कार्कीले बताए । केन्द्रले कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा जोड्ने, उत्पादनको उचित व्यवस्थापन गर्ने, भण्डारण तथा बजारीकरणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले स्थानीय सरकारले कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै किसानहरूको हितका लागि योजनाहरू अघि बढाइरहेको बताइन ।
उनका अनुसार कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना पूरा गर्न यस्ता संकलन केन्द्रहरू उपयोगी हुने बताइन ।
वडा नं। ३ का वडा अध्यक्ष नारायण बहादुर के।सी। ले स्थानीय तहमा कृषिलाई प्राथमिकता दिँदै यस्ता संरचनात्मक विकास योजनाहरू अघि बढाइएको बताउनुभयो। उहाँले कृषकहरूलाई आवश्यक पर्ने सुविधाहरू सहज रूपमा उपलब्ध गराउनका लागि संकलन केन्द्र महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी स्थानीय कृषकहरूले पनि स्थानीय उत्पादनलाई संगठित बनाउने, कृषि सामग्रीको सहज आपूर्ति गर्ने, उत्पादन बजारीकरण गर्ने जस्ता पक्षलाई प्रभावकारी बनाउन यस्ता केन्द्रहरूको आवश्यकता रहेको बताएका थिए।























