पाल्पा-तानसेन नगरपालिका अन्तर्गत कालीगण्डकी किनारमा रहेको ऐतिहासिक रानीमहल प्रेमको प्रतीकस्थलका रूपमा परिचित छ। “नेपालको ताजमहल” भनेर समेत चिनिने यस दरबारमा प्रणय दिवसको अवसरमा प्रेमजोडीहरूको उल्लेखनीय भीड देखिएको छ। सच्चा प्रेम गर्नेहरूले यो ऐतिहासिक स्थलको भ्रमणलाई विशेष अर्थमा लिने गरेका छन्।
तानसेन बजारदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी किनारमा अवस्थित यो महल पश्चिम कमाण्डर जनरल खड्ग शम्शेर द्वारा आफ्नी दिवंगत पत्नी तेजकुमारी को सम्झनामा निर्माण गरिएको हो। वि.सं. १९५० मा शिलान्यास गरी पाँच वर्षमा सम्पन्न भएको यो दरबार प्रेमकथाको जिउँदो प्रतीक बनेको छ।
प्रणय दिवसमा रानीमहलमा प्रेमजोडीहरूको उल्लेखनीय उपस्थिति देखिन्छ। यहाँ आउने पर्यटकहरूले केवल रमाइलो मात्र गर्दैनन्, उनीहरूले आफ्नो प्रेमलाई ऐतिहासिक प्रेमकथासँग तुलना गर्ने अवसर पाउँछन्।
पर्यटक सुभाष श्रेष्ठ (काठमाडौं) भन्छन्:“रानीमहलको वास्तुकला, नदी किनारको सौन्दर्य र ऐतिहासिक महत्त्व प्रेमजोडीहरूलाई लोभ्याउँछ। यहाँ बसेर हाम्रो प्रेमकथालाई इतिहाससँग तुलना गर्दा अविस्मरणीय अनुभव भयो।”
पर्यटकहरूको आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको छ। होटल, यातायात, फोटोग्राफी, गाइड सेवाजस्ता व्यवसायले फाइदा लिइरहेका छन्।
तर, पर्यटकीय पूर्वाधारको अभाव अझै चुनौतीकै रूपमा रहेको छ। पर्यटक बीरेन्द्र पन्थी (रुपन्देही) बताउँछन्:“रानीमहलको ऐतिहासिकता लोभलाग्दो भए पनि यसको व्यवस्थापनमा सुधार आवश्यक देखिन्छ। भवन संरक्षण, सरसफाइ र पूर्वाधार विकासमा थप ध्यान जानुपर्छ।”
रानीमहलः प्रेमको प्रतीक कि ऐतिहासिक धरोहर? रानीमहल केवल प्रेमीहरूका लागि गन्तव्य मात्र नभएर इतिहासप्रेमी र प्रकृतिप्रेमीहरूका लागि पनि विशेष स्थल हो।
पर्यटक पार्वती पन्थी (रुपन्देही) भन्छिन्: “प्रेम दिवस मात्र होइन, वर्षभरि नै इतिहास र संस्कृतिप्रेमीहरूका लागि रानीमहल आकर्षणको केन्द्र बन्न सक्छ। यसलाई व्यवस्थित गर्न सकेमा पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्नेछ।”
प्रणय दिवसमा मात्र होइन, वर्षभरि नै पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्ने रानीमहलको व्यवस्थापन, संरक्षण, र प्रचारप्रसारलाई बल दिनुपर्ने देखिन्छ। पर्यटन प्रवर्द्धनका साथै स्थानीय अर्थतन्त्रको सुदृढीकरणका लागि सरोकारवालाहरूको ध्यान जान आवश्यक छ।
























