Palpa Dainik
मंगलबार, कार्तिक १७, २०८३  |  November 3, 2026
×

पाल्पा-पाल्पाका महिलाहरु व्यावसायिक बाख्रापालनमार्फत आर्थिक रूपमा सक्षम बन्दै गएका छन्। महिलाहरुले बाख्रापालनबाट राम्रो आम्दानी गर्न थालेपछि पाल्पाबाट ठूलो मात्रामा बाख्राको निर्यात समेत हुन थालेको छ। यसले महिलाहरू आत्मनिर्भर बन्नुका साथै पाल्पामा बाख्रापालन व्यवसायलाई मजबुत बनाउन सफलता मिलेको महसुस गरिएको छ।

तानसेन नगरपालिका–१३ बौघागुम्बाकी कान्तिसरा रानाले व्यावसायिक बाख्रापालन गर्दै आएकी छन्। उनले वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन्। बाख्रापालनबाट भएको आम्दानीले परिवारको लालनपालन, शिक्षादीक्षा तथा अन्य आवश्यकताहरू पूरा गर्न सहज भएको उनले बताइन्। यसले परिवारमा खुसी ल्याएको छ।

तानसेन नगरपालिका–८ की माया खाँडले पनि व्यावसायिक बाख्रापालनबाट राम्रो आम्दानी गरिरहेकी छन्। हाल उनीसँग ४८ वटा बाख्रा छन्, जसबाट दशैँ–तिहारका बेला २६ वटा खसीबोका बिक्री गरी राम्रो आम्दानी गरेकी थिइन्। उनी थप खसीबोका बिक्री गरी आम्दानी बढाउने योजनामा छिन्।

तानसेन नगरपालिका–१३ बौघागुम्बास्थित मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिलाहरुलाई बीउ पुँजी, प्राविधिक ज्ञान तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइँदै आएको छ। सहकारीका सदस्यहरूले उत्पादित खसीबोकाको विक्रीबाट २ करोड ९ लाख रुपैयाँ आम्दानी गरेका छन्। यसले महिलाहरूको सशक्तिकरणमा महत्वपूर्ण योगदान पु¥याएको छ।

मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष कमला भण्डारीका अनुसार महिलाहरू व्यावसायिक पशुपालनबाट आम्दानी गर्दै गए पनि स्थानीय सरकारले थप व्यावसायिक तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ। यस्तो तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्नेछ र समाज रूपान्तरणमा समेत योगदान पुग्नेछ।

सम्बन्धित समाचार