Palpa Dainik
आइतबार, भाद्र २८, २०८३  |  September 13, 2026
×

पाल्पा—पाल्पाको देउराली र ख्याहाको सिमानामा मंगलबार अपराह्नदेखि डढेलो लागेको छ। रिब्दीकोट गाउँपालिका–1 र 2 को संसारकोट डाँडामा लागेको डढेलो निभाउने प्रयास जारी रहे पनि अझै नियन्त्रणमा आउन सकेको छैन। रिब्दीकोट गाउँपालिका–1, ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार डढेलोले बिस्तारै ठूला क्षेत्रमा असर गरिरहेको छ।

हार्थोकदेखि देउराली हुँदै ख्याहा जोड्ने सडकअन्तर्गत तल्लो र माथिल्लो भागमा अपराह्न १ बजेतिरबाट सल्लाको जंगलमा डढेलो सुरु भएको हो। यसलाई नियन्त्रणमा लिन तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब-डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा, जनप्रतिनिधि सक्रिय रुपमा जुटेका छन्।

डढेलोका कारण ख्याहाको गैरागाउँ, देउरालीको पोखरडाँडा, लघुवा, डम्बक लगायतका गाउँ उच्च जोखिममा परेका छन्। स्थानीयका अनुसार खानेपानीको मुहान, ट्यांकी, विद्युत् ट्रान्सफर्मरलाई जोगाउन सफल भए पनि डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ। वडाध्यक्ष पोखरेलका अनुसार देउरालीको पोखरडाँडा क्षेत्र भने अहिले जोखिममुक्त भएको छ, तर ख्याहाको गैरागाउँ, देउरालीको डम्बक र लघुवा अझै पनि डढेलोको उच्च जोखिममा छन्।

डढेलो ख्याहाको मधुवन सामुदायिक वन र देउरालीको लेक सामुदायिक वन क्षेत्रमा फैलिएको छ। रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीका अनुसार हालसम्म झण्डै १० हेक्टर जंगल डढेर सखाप भइसकेको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले डढेलो नियन्त्रणका लागि निरन्तर प्रयास भइरहेको बताए। उनले भने, ‘नियन्त्रणको प्रयास जारी राखेका छौं। एउटा बस्ती जोगाइएको छ, थप बस्तीलाई पनि जोखिमबाट बचाउने प्रयास गरिरहेका छौं।’ स्थानीय प्रशासन, सुरक्षा निकाय र बासिन्दाहरूको सक्रियतामा डढेलो नियन्त्रण गर्ने प्रयास तीव्र पारिएको छ।

सम्बन्धित समाचार