Palpa Dainik
सोमबार, भाद्र २९, २०८३  |  September 14, 2026
×

पाल्पा-रोटरी क्लब अफ पाल्पा तानसेनले युनाइटेड मिसन अस्पताललाई ‘फोहोर पानी उपचार युएमएच परियोजना’ हस्तान्तरण गरेको छ। रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ नेपाल भुटानको ग्लोबल ग्रान्ट फण्डअन्तर्गत क्लबले निर्माण गरेको उक्त परियोजना अस्पताललाई प्रदान गरिएको हो।

करिब ४ करोड २२ लाख लागतमा निर्मित यस परियोजनाको हस्तान्तरण रोटरी इन्टरनेशनल डिष्ट्रीक ३२९२ नेपाल भुटानका निवर्तमान गभर्नर राजेन्द्रमान ध्वजुले गरेका हुन्। भूँसलडाँडा क्षेत्र र अस्पतालबाट निस्कने फोहोर पानीलाई छुट्टाछुट्टै पाइपलाइनमार्फत प्रशोधन गर्ने व्यवस्था मिलाइएको छ। सफा पानी ट्याङ्की तथा सेप्टी ट्याङ्की निर्माण गरी उपचार संयन्त्र स्थापना गरिएको क्लबका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दुई वर्षअघि परियोजना अगाडि बढाइएको थियो, जसलाई सबैको सहयोगमा सफलतापूर्वक सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको उनले बताए। रोटरी क्लबको १२०औं वार्षिकोत्सवको अवसरमा उक्त परियोजना सम्पन्न गरी अस्पताललाई प्रदान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि निवर्तमान गभर्नर राजेन्द्रमान ध्वजुले क्लबले इमान्दारिताका साथ परियोजना समयमै सफल बनाएकोमा धन्यवाद दिए। युनाइटेड मिसन अस्पतालकी निर्देशक डा. रचेल कार्खले परियोजना हस्तान्तरणप्रति आभार व्यक्त गर्दै यसको सही सदुपयोग गरिने बताइन्।

रोटरी इन्टरनेशनलका प्रतिनिधि एन व्रिट, इन्जिनियर एट आर्मर, नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की, नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष कमलराज तिमिल्सिनालगायतले रोटरी क्लबको योगदानको प्रशंसा गरे।

कार्यक्रम क्लबका अध्यक्ष भीमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष बंकीनचन्द्र खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने निवर्तमान अध्यक्ष यादवसिं कार्कीले धन्यवाद ज्ञापन गरेका थिए। सचिव विनायक महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्बन्धित समाचार