Palpa Dainik
सोमबार, भाद्र २९, २०८३  |  September 14, 2026
×

पाल्पा- बगनासकाली गाउँपालिका–२, पोखराथोकको लालपाटीस्थित ऐतिहासिक नरसिंह मन्दिर परिसरमा यस वर्षको फागुपूर्णिमा मेला हुने भएको छ । लालपाटी नरसिंह मन्दिर व्यवस्थापन समितिको आयोजनामा फागुन २९ गते फागुपूर्णिमा मेला  हुन लागेको हो ।

यस मेलाले स्थानीय सांस्कृतिक सम्पदा र परम्परालाई संरक्षण गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र ढकालका अनुसार मेलामा फागु नाच प्रतियोगिता हुने छ । प्रतियोगितामा सहभागी उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष ढकालले बताए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ८ हजार, दोस्रो स्थान हासिल गर्नेलाई ६ हजार, तेस्रो स्थान हाँसिल गर्नेलाई ४ हजारको रासीको पुरस्कारको व्यवस्था गरेको छ ।

मेलामा हास्य कलाकार पुर्खे बा (पुरुषोत्तम भण्डारी)को विशेष प्रस्तुति समेत रहनेछ, जसले मेलामा थप रमाइलोपन दिने अपेक्षा गरिएको छ।

लालपाटी माडीफाँटको केन्द्र हो, जुन पाल्पाको पुरानो व्यापारिक केन्द्र मानिन्छ। इतिहासअनुसार, यो क्षेत्रमा २५० वर्षभन्दा अघिदेखि फागु नाच खेल्ने पुरानो परम्परा छर विशेषगरी नुन बोक्ने पुरानो मार्गका रूपमा यो क्षेत्र प्रसिद्ध रहेको थियो ।

लोप भइसकेको फागु नाच लाई जोगाउने उद्देश्यले मन्दिर व्यवस्थापन समिति सक्रिय रूपमा लागिपरेको छ। विगत तीन वर्षदेखि निरन्तर पहल गर्दै, यो परम्परागत नाचलाई पुनःस्थापित गर्न व्यापक प्रयास गरिँदै आएको छ।

नरसिंह मन्दिरको निर्माण गरी पुरानो लोकसंस्कृति र धार्मिक सम्पदाको संरक्षण गर्न विशेष ध्यान दिइएको छ। फागुपूर्णिमा मेला मार्फत परम्परागत संस्कृतिलाई जोगाउने कार्यमा लालपाटी नरसिंह मन्दिर व्यवस्थापन समिति प्रतिबद्ध रहेको जनाइएको छ । स्थानीय परम्परा, संस्कार र सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्दै आएको लालपाटी फागुपूर्णिमा मेलाले यस वर्ष पनि धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेर भव्य रूपमा सम्पन्न हुने आयोजकको भनाई छ ।

सम्बन्धित समाचार