Palpa Dainik
मंगलबार, भाद्र ३०, २०८३  |  September 15, 2026
×

पाल्पा-पाल्पामा यस वर्ष डेंगु संक्रमितको संख्या १०० पुगेको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार, गत जनवरीदेखि हालसम्म यो संख्यामा संक्रमण पुष्टि भएको हो। सबैभन्दा धेरै संक्रमण जुन महिनामा (३२ जना) र जुलाईमा हालसम्म १९ जनामा देखिएको छ।

जिल्लाका विभिन्न स्थानीय तह र तानसेनस्थित युनाइटेड मिसन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आएका बाहिरी जिल्लाका नागरिकमा समेत संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईले परीक्षणको दायरा बढाएमा संक्रमितको संख्या अझै बढ्न सक्ने बताए।

वर्षायाममा लामखुट्टेको वृद्धि विकासका कारण संक्रमण फैलिएको हो। पछिल्ला वर्षहरूमा पाल्पामा डेंगुको संक्रमण हरेक वर्ष बढ्दो क्रममा छ। गत वर्ष ४०० भन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको थियो। संक्रमण नियन्त्रणका लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिए पनि संक्रमण बढेको पाइएको छ।

डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। यसका लक्षणहरूमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी र पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, र बेहोस हुनेजस्ता समावेश छन्।

स्वास्थ्य कार्यालयले डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको वृद्धि रोक्न उपयुक्त उपायहरू अपनाउन सबैलाई सचेत हुन अनुरोध गरेको छ।

सम्बन्धित समाचार