Palpa Dainik
सोमबार, भाद्र २९, २०८३  |  September 14, 2026
×

पाल्पा– पाल्पा जिल्लामा कुपोषित हुने बालबालिकाको संख्या हरेक वर्ष बढ्दै गएको छ, जसले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेको छ। स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८०/८१ मा २८ जना बालबालिकामा कडा खालको कुपोषण देखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा बढेर यो संख्या ४१ पुगेको छ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जिल्लाका १० वटै पालिकाभित्रका १० देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरूमा गरिएको जाँचबाट कडा कुपोषणका साथै मध्यम खालको कुपोषण हुने बालबालिकाको संख्यामा पनि वृद्धि भएको जानकारी दिए। अघिल्लो वर्ष १२९ जना बालबालिकामा मध्यम खालको कुपोषण देखिएकोमा चालु आर्थिक वर्ष २०८१/८२ मा यो संख्या १८४ पुगेको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाभरका ८ हजार ७२९ जना बालबालिकामा कुपोषण भए नभएको जाँच गरेको थियो। यस जाँचले बालकको तुलनामा बालिका र सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढी देखिएको तथ्य उजागर गरेको छ।

कडा खालको कुपोषण हुने अधिकांश बालबालिका तानसेन र रामपुर नगरपालिकाका रहेका छन्। यस्तै, मध्यम खालको कुपोषण देखिने बालबालिका बगनासकाली, रामपुर र तानसेनका रहेका छन्। स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेका अनुसार, सहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कडा र मध्यम खालको कुपोषण देखिनुको मुख्य कारण दैनिक खानपानमा पत्रु खाना (जंक फुड) को अत्यधिक प्रयोग हो।

सम्बन्धित समाचार