Palpa Dainik
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026
×

पाल्पा-जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरूलाई ट्राफिक सचेतना तालिम प्रदान गरेको छ। यो कार्यक्रम नागरिक सुनुवाइ कार्यक्रमसँगै तानसेन नगरपालिका वडा नं. ७ प्रभाष र तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सामा सम्पन्न भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यका अनुसार, तिनाउ गाउँपालिकामा ५५ जना र तानसेन नगरपालिकामा ४० जना गरी कुल ९५ जना सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरूले तालिममा सहभागिता जनाएका थिए। तालिमका क्रममा सञ्चालक र मेकानिकहरूलाई चोरी गरिएका सवारी साधन मर्मत नगर्न, आफ्नो व्यवसाय सम्बन्धित निकायमा दर्ता गरी सञ्चालन गर्न, र सडकमा अवरोध हुने गरी मर्मत केन्द्र सञ्चालन नगर्न अनुरोध गरिएको थियो।

ट्राफिक प्रमुख आचार्यले ट्राफिक नियम पालना गर्न र गराउन सवारी मर्मत केन्द्र र मेकानिकहरूको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिए। साथै, सवारी साधन मोडिफाई गर्दा ट्राफिक नियमको उल्लङ्घन नहुने गरी गर्न पनि मेकानिकहरूलाई आग्रह गरिएको छ। सडक दुर्घटना भएमा ट्राफिक प्रहरीलाई नकुरी गाडी नम्बर टिपेर घाइतेहरूको तत्काल उद्धार गर्ने, र गाडीभित्र यात्रुले गर्ने फोहोर (जस्तै वान्ता) को उचित व्यवस्थापन गर्ने लगायतका विषयमा पनि तालिममा सहजीकरण गरिएको थियो।

नागरिक सुनुवाइ कार्यक्रममा ट्राफिक प्रहरीसम्बन्धी गुनासोहरू सुनुवाइ गरी सम्बोधन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ। यस क्रममा नागरिकहरूले सवारीको तीव्र गति, प्रेसर हर्नको प्रयोग, चालक तथा सहचालकद्वारा मादक पदार्थ र लागुपदार्थ सेवन, आरक्षण सिटको व्यवस्थापन, सवारी साधनबाट सामान खस्ने समस्या, सार्वजनिक सवारी साधनमा डस्टबिनको अभाव, कोइला तथा चुनढुङ्गा बोक्ने टिप्परबाट बाटोमा फोहोर खस्ने, र गस्ती बढाउनुपर्नेलगायतका विषयमा चासो व्यक्त गरेका थिए।

तिलोत्तमा माध्यमिक विद्यालयका शिक्षक शिव पाण्डेयले यस्ता सचेतना तालिम र सुनुवाइ कार्यक्रमले नागरिक र प्रहरीबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै ट्राफिक नियमको पालना र दुर्घटना न्यूनीकरणमा ठूलो भूमिका खेल्ने बताए। उनले यस्ता कार्यक्रम जिल्लाका सबै स्थानमा विस्तार गर्नुपर्नेमा जोड दिए।

तिनाउ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष चित्र बहादुर थापाले स्थानीय तहको समन्वय र सहकार्यमा सबै नागरिकहरूलाई ट्राफिक सचेतना दिने कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। यता, तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रदीप खनालले ट्राफिक कार्यालयले स्थानीय सरकारसँग समन्वय गरी सचेतना तालिम सञ्चालन गरेकोमा सकारात्मक भएको बताउँदै, नागरिक सुनुवाइको आयोजना गरी सुझाव दिने अवसर प्रदान गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पालाई धन्यवाद व्यक्त गरे।

सम्बन्धित समाचार