Palpa Dainik
आइतबार, जेठ १०, २०८३  |  May 24, 2026
×

पाल्पा –पाल्पाको रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक एवं धार्मिक स्थल जलेश्वरधाममा ‘जलेश्वरधाम शिवपुराण महायज्ञ–२०८२’ भव्य रूपमा सुरु भएको छ। महायज्ञ मूल आयोजक समितिको आयोजना, रिब्दीकोट गाउँपालिकाको संरक्षकत्व तथा विश्व हिन्दु महासंघ पाल्पाको सहकार्यमा यो धार्मिक महोत्सव सञ्चालन भएको हो।

महायज्ञको औपचारिक उद्घाटन रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको छ। उद्घाटन समारोह पूर्व निकालिएको कलशयात्रामा स्थानीय जनसमुदायको अत्यन्तै बाक्लो र उत्साहजनक उपस्थिति रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले जलेश्वर मन्दिर क्षेत्रलाई पुण्यभूमि र तपोभूमिका रूपमा विकास गर्न यस महायज्ञले सेतुको काम गर्ने बताउनुभयो। उहाँले यो क्षेत्र शान्ति र आनन्द प्राप्त हुने पवित्र स्थान भएको उल्लेख गर्दै यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न महायज्ञ आयोजना गरिएको प्रष्ट पार्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले यस क्षेत्रको समग्र विकास र पर्यटन प्रवर्द्धनका लागि रिब्दीकोटवासीको सामूहिक सहयोग र सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँहरूले महायज्ञलाई पूर्ण रूपमा सफल बनाउन गाउँपालिकाले हरसम्भव सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

महायज्ञ अवधिभर प्रमुख वाचक भिमलाल भट्टराईले संगीतपूर्ण शैलीमा शिवपुराणको कथा वाचन गर्नुहुनेछ। माघ २२ गतेदेखि सुरु भएको यो महायज्ञ आगामी फागुन ३ गतेसम्म कुल ११ दिन चल्ने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा गाउँपालिकाका सबै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष बेणिमाधव आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले यस धार्मिक अनुष्ठानले समाजमा धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। आयोजक तथा अतिथिहरूले सम्पूर्ण सरोकारवाला पक्ष र भक्तजनहरूलाई महायज्ञमा सहभागी भई पुण्य कमाउन र आ–आफ्नो तर्फबाट भौतिक एवं नैतिक सहयोग गर्न आह्वान गरेका छन्।

सम्बन्धित समाचार