पाल्पा- बगनासकाली गाउँपालिका-७ दैलातुङ्गस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ। वैशाख १ गते दिउँसो अन्दाजी ४ बजेको समयमा नदीमा पौडी खेल्न गएका बगनासकाली-९ बस्ने ३९ वर्षीय शरण भुषाल र सोही स्थानका २९ वर्षीय तोयनाथ बस्याल डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजी कार्य जारी राखेको थियो। खोजतलास गर्ने क्रममा आज बिहान ०७:५५ बजे बगनासकाली-७ दैलातुङ्गस्थित नदीको बीच भागमा २९ वर्षीय तोयनाथ बस्यालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बेपत्ता भएका अर्का व्यक्ति शरण भुषालको खोजी कार्य अझै जारी रहेको प्रहरीले जानकारी दिएको छ।
























