पाल्पा -आरोग्यताको आधार योग, ध्यान र आयुर्वेद उपचार भन्ने मूल नाराका साथ पाल्पाको रामपुरमा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। रामपुर नगरपालिकाको आयोजना तथा रामपुर आयुर्वेद अस्पतालको समन्वयमा आयोजित विशेष कार्यक्रमका बीच यो दिवस मनाइएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सन्दिप रानाले नेपाललाई आयुर्वेद र योगको जननीका रूपमा चित्रण गर्नुभयो। उहाँले योग र आयुर्वेदको सुरुवात र विकास नेपालबाटै भए पनि यसको उचित प्रबर्द्धन हुन नसक्दा पूर्वीय चिकित्सा पद्धति ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। सांसद रानाले रामपुर र समग्र कालीगण्डकी बेँसीलाई ‘वैदिक पर्यटन क्षेत्र’का रूपमा विकास गर्न तीनै तहका सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो।
लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति एवं प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले स्वस्थ जीवन नै मानिसको सबैभन्दा ठुलो धन भएको उल्लेख गर्दै नसर्ने रोगहरूबाट बच्न योग र आरोग्य पद्धतिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। त्यस्तै, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वस्थ जीवनशैलीले मात्र मानिसमा सकारात्मक सोचको विकास गर्ने बताउँदै नगरपालिकाले योग र आरोग्य सेवाका लागि आगामी दिनमा आवश्यक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने आश्वासन दिनुभयो।
रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेलले संयुक्त राष्ट्र संघमा नेपालले राखेको प्रस्ताव अनुसार नै यो दिवस मनाउन सुरु गरिएको जानकारी दिनुभयो। विश्वभर नसर्ने रोगको जोखिम बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि योग र आरोग्य नै उत्तम विकल्प रहेको उहाँको भनाइ थियो। रामपुर नगर योग समितिका अध्यक्ष सुदिप गैरेले योग र ध्यानले शारीरिक स्वास्थ्यका साथै मानसिक सबलता र नैतिक ज्ञान प्रदान गर्ने कुरामा जोड दिनुभयो।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तव्य डा. चेमन प्रकाश पोखरेलले राख्नुभएको थियो भने सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नुभएको थियो। रामपुर आयुर्वेद अस्पतालको सभाहलमा भएको उक्त कार्यक्रममा सहभागीहरूलाई योग साधनाका विभिन्न विधिहरू समेत प्रयोगात्मक रूपमा सिकाइएको थियो।
























