पाल्पा- रिब्दीकोट गाउँपालिकामा सञ्चालित रिब्दीकोट कृषि परियोजना अन्तर्गतको “एक बोट सय नोट” कार्यक्रमलाई थप प्रभावकारी बनाउन आयोजित माटो परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
हेफर प्रोजेक्ट नेपालको प्राविधिक तथा आर्थिक सहयोग र ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा सञ्चालित यस कार्यक्रमका लागि गाउँपालिकाका सबै वडाबाट सङ्कलन गरिएका २१६ वटा माटोका नमुनाहरूको विस्तृत परीक्षण गरिएको हो।
खस्यौलीस्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित उक्त शिविरमा माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका प्रमुख आशिष पाठक र कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख आमिता पाण्डेको विशेष उपस्थिति रहेको थियो। उनीहरूको प्रत्यक्ष प्राविधिक रेखदेखमा माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटासको मात्रा, प्राङ्गारिक पदार्थको अवस्था, पिएच मान र सूक्ष्म जीवहरूको उपस्थितिजस्ता महत्त्वपूर्ण सूचकहरूको सूक्ष्म विश्लेषण गरिएको छ।
यस परीक्षणबाट प्राप्त नतिजाले स्थानीय कृषकहरूलाई आफ्नो जग्गाको माटोको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिनेछ। यसले विशेषगरी फलफूल र जडीबुटी खेतीलाई परम्परागत शैलीबाट मुक्त गरी वैज्ञानिक, व्यवस्थित र उत्पादनमुखी बनाउन कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ।
माटोको गुणस्तरअनुसार उपयुक्त मल र बिरुवाको छनोट गर्न सकिने भएकाले आगामी दिनमा उत्पादनमा वृद्धि हुनुका साथै कृषकहरूको आर्थिक अवस्थामा समेत सुधार आउने अपेक्षा गरिएको छ। रिब्दीकोट गाउँपालिकाले यस अभियानमार्फत कृषि क्षेत्रलाई व्यवसायीकरण गर्दै “एक बोट सय नोट” को लक्ष्य प्राप्त गर्न ठोस कदम चालेको देखिन्छ।























