पाल्पा-अखिल नेपाल महिला संघ पाल्पाको अध्यक्षमा सुशीला लोहनी (केशरी) निर्वाचित हुनुभएको छ। शनिबार पाल्पाको सदरमुकाम तानसेनमा सम्पन्न अनेम संघको १२औं जिल्ला सम्मेलनले लोहनीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नेकपा एमाले तानसेन नगरकमिटीका अध्यक्ष गुराँस आत्रेयका अनुसार सम्मेलनले नयाँ गठित २९ सदस्यीय जिल्ला कमिटीको नेतृत्वलाई सर्वसम्मतिले अनुमोदन गरेको हो।

नयाँ कार्यसमितिको पदाधिकारीहरूमा अध्यक्ष केशरी लोहनी (सुशीला), उपाध्यक्षद्वय ईश्वरी खनाल र इन्द्रा चिदी, सचिव गीता रेग्मी, उपसचिव राधिका थापा, कार्यालय सचिव मन हेमचुरी र कोषाध्यक्षमा विष्णु पौडेल निर्वाचित हुनुभएको छ।
भव्य समारोहका बीच सम्पन्न भएको उक्त सम्मेलनमा प्रमुख अतिथिको रूपमा अनेम संघका केन्द्रीय अध्यक्ष टुका भद्र हमाल उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमाल, अनेम संघका केन्द्रीय सचिव विना ज्ञवाली, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज नारायण आचार्य, एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती मगर, र प्रदेश कमिटी उपसचिव तथा लुम्बिनी प्रदेश महिला इन्चार्ज लीला राना लगायतका विशिष्ट नेताहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
अनेम संघ पाल्पाका निर्वतमान अध्यक्ष मीना जिसीको अध्यक्षतामा सम्पन्न सम्मेलनको बन्द सत्र तथा उद्घाटन सत्रमा विभिन्न साङ्गठनिक एवं आर्थिक प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए। निवर्तमान अध्यक्ष जिसीले संघको साङ्गठनिक प्रतिवेदन र तत्कालीन कोषाध्यक्ष एवं हाल नवनिर्वाचित अध्यक्ष सुशीला लोहनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष ईश्वरी खनालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त सम्मेलनको कार्यक्रमको सञ्चालन संघका सहसचिव इन्द्रा चिदीले गर्नुभएको थियो।























