Palpa Dainik
आइतबार, भाद्र २८, २०८३  |  September 13, 2026
×

पाल्पा- रिब्दीकोट गाउँपालिकाले शैक्षिक सत्र २०८२ को कक्षा १० (एसईई) र कक्षा १२ (एसएलसीई) को परीक्षामा सर्वोत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच पुरस्कृत तथा सम्मानित गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा आज आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याई पालिकाको गौरव बढाएबापत विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका भित्रका विद्यालयहरूबाट कक्षा १० र कक्षा १२ मा सर्वोत्कृष्ट स्थान हासिल गर्ने २/२ जना छात्र र छात्रा गरी जम्मा ४ जना विद्यार्थीहरूलाई जनही २० हजार रुपैयाँ नगद, सम्मान पत्र र मेडल प्रदान गरिएको शिक्षा शाखा प्रमुख राजाराम भाट बताए ।

सम्मानित हुनेहरूमा कक्षा १० (एसईई) तर्फ नारायण माध्यमिक विद्यालयका आयुष बगाले (जीपीए ३.६१) र सरस्वती माध्यमिक विद्यालयकी सन्ध्या श्रेष्ठ (जीपीए ३.३३) रहेका छन्। यसैगरी कक्षा १२ (एसएलसीई) तर्फ आदर्श माध्यमिक विद्यालय देउरालीकी राशी भट्टराई (जीपीए ३.७५) र नारायण माध्यमिक विद्यालयका शेर बहादुर राना (जीपीए ३.३३) सम्मानित भएका छन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिँदै पालिकाको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार सधैं क्रियाशील रहने बताए। उनले यस्ता प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीहरूमा थप ऊर्जा, लगनशीलता र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका  प्रशासकीय अधिकृत रुकलाल भट्टराई, शिक्षा शाखा प्रमुख राजाराम भाट, स्रोत विज्ञ गोपाल केसी तथा सम्बन्धित विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार