पाल्पा-सुनसरी लगायतका जिल्लाहरूमा हालै घटेका घटनाहरूप्रति पाल्पाका क्रियाशील राजनीतिक दलहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जिल्लावासी तथा आम नागरिकलाई सामाजिक सद्भाव, संयम र शान्ति कायम राख्न संयुक्त अपिल गरेका छन्।
दलहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त घटनाहरूमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घटनामा घाइते भएकाहरूको उचित स्वास्थ्य उपचार र शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र नेपालको राष्ट्रिय पहिचान नै विविधताबीचको एकता रहेको स्मरण गराउँदै दलहरूले सम्पूर्ण नागरिकलाई धर्म, जात, भाषा वा समुदायभन्दा माथि उठेर आपसी सम्मान र सद्भावलाई मजबुत बनाउन आग्रह गरेका छन्। कठिन घडीमा कुनै पनि अपुष्ट सूचना, अफवाह वा उत्तेजक सामग्रीको पछि नलाग्न र सामाजिक सञ्जालमार्फत द्वेष फैलाउने गतिविधिबाट टाढा रहन दलहरूले विशेष अनुरोध गरेका छन्।
यसैगरी घटनाको निष्पक्ष, पारदर्शी र कानुनबमोजिम छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नागरिकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ। शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था तथा सञ्चारमाध्यमलाई संयुक्त आह्वान गरिएको छ।
उक्त अपिल पत्रमा नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाद दत्त श्रेष्ठ, नेकपा (एमाले) पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती मगर, राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सभापति विष्णु प्रसाद भण्डारी,नेपाली कम्युनिस्ट पार्टी पाल्पाका इन्चार्ज यादव बहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुल बहादुर कुँवर र राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामीले संयुक्त हस्ताक्षर गर्नुभएको छ।






















