Palpa Dainik
शुक्रबार, कार्तिक ०७, २०८३  |  October 23, 2026
×

पाल्पा–“विपद् होस् वा सामान्य अवस्था, परिवार योजना सबैको आवश्यकता” भन्ने मुख्य नाराका साथ पाल्पामा १३ औँ राष्ट्रिय परिवार योजना दिवस तथा ६७ औँ नेपाल परिवार नियोजन संघ स्थापना दिवस मनाइएको छ ।

नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजना एवं स्वास्थ्य कार्यालय पाल्पा र तानसेन नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा तानसेनमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले प्रजनन स्वास्थ्य अत्यन्त महत्वपूर्ण रहेको बताउँनुभयो । प्रजनन स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउ सरोकारवाला निकायहरूबीच बलियो सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले परिवार नियोजन सेवा महिलाको मात्र विषय नभई पुरुष र सिङ्गो परिवारको दायित्व भएको उल्लेख गर्नुभयो । दम्पतीले आफ्नो सन्तान कहिले, कसरी र कति जन्माउने भन्ने पूर्वयोजना बनाउनु नै परिवार योजनाको महत्व हुने बताउनुभयो ।

नेपाल परिवार नियोजन संघ पाल्पाका कार्यवाहक अध्यक्ष माधव प्रसाद अर्यालले संघले प्रजनन स्वास्थ्य तथा परिवार योजनाका बारेमा पाल्पाका स्थानीय तहसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।

नेपाल परिवार नियोजन संघ, पाल्पा शाखाका प्रवन्धक शोभाक्रान्त न्यौपानेले विपद्का समयमा पनि परिवार योजनाका साधन र परामर्श सेवाको निरन्तर पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रम नेपाल परिवार नियोजन संघ पाल्पाकी सदस्य सुनिता श्रेष्ठको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो । सो कार्यक्रम नेपाल परिवार नियोजन संघ पाल्पा कार्यवाहक अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षता र नेपाल परिवार नियोजन संघ, पाल्पा शाखाका प्रवन्धक शोभाक्रान्त न्यौपानेको कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्राकृतिक संकटका बेला स्वास्थ्य सेवा अवरुद्ध भई अनपेक्षित गर्भधारण र मातृ तथा नवजात शिशु मृत्युको जोखिम बढ्ने भएकाले पूर्वतयारीका साथ सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने निष्कर्ष कार्यक्रमले निकालेको थियो ।

सम्बन्धित समाचार