रामपुर-अमेरिकी संस्था ‘निवस’को सहयोग, टुकी फाउन्डेसनको सहकार्य तथा रामपुर नगरपालिकाको आर्थिक साझेदारीमा निर्मित नयाँ भवनहरू एकल आमाहरूलाई हस्तान्तरण गरिएको छ। रामपुर नगरपालिकाका वडा नम्बर ६, २ र ४ मा १-१ गरी कुल ३ वटा दुईकोठे भूकम्पप्रतिरोधी घर तथा शौचालय निर्माण सम्पन्न भई सम्बन्धित परिवारलाई साँचो बुझाइएको हो।
रामपुर-६ विजयपुरकी गनमाया घर्ती, रामपुर-२ खएरबोटकी बन्दना विश्वकर्मा र रामपुर-४ छत्तिनडाडाकी विष्णुमाया रानाका लागि घर निर्माण गरिएको हो। संस्थाले वडाभित्रका अति दयनीय अवस्थामा रहेका, १६ वर्षमुनिका बालबालिका भएका, स्थायी आम्दानीको स्रोत नभएका र आफ्नै भू-स्वामित्व रहेका एकल आमाहरूलाई मापदण्डका आधारमा छनोट गरी यी भवनहरू तयार पारेको जनाएको छ।
हस्तान्तरण कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले निर्माण सम्पन्न घरका घरधनीहरूलाई साँचो हस्तान्तरण गर्नुभयो। नगरप्रमुख थापाले स्थानीय वडाको समन्वयमा वास्तविक विपन्न एकल आमाहरूको पहिचान गरी आवास निर्माण गरिएको बताउनुभयो। सोही अवसरमा नगर उपप्रमुख बालकुमारी थापाले विपन्न परिवारलाई आवास सुविधा उपलब्ध गराउन सहयोग गर्ने सहयोगी संस्थाहरूप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा रामपुर वडा नम्बर ६ का अध्यक्ष दिवाकर देवकोटा, वडा नम्बर २ का अध्यक्ष कृष्णबहादुर दर्जी र वडा नम्बर ४ का अध्यक्ष रामबहादुर रानाले आ-आफ्नो वडामा मन्तव्य राख्दै नवनिर्मित घरले लक्षित परिवारको जीवनस्तरमा राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। टुकी फाउन्डेसनका निर्देशक शिला सेनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो।
























