Palpa Dainik
शुक्रबार, कार्तिक ०७, २०८३  |  October 23, 2026
×

खगेन्द्र केसि (चट्टान)

पृष्ठभूमि

नेपालको लुम्विनी प्रदेश अन्र्तगत पाल्पा जिल्लामा अवस्थित २०२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तिनाउ गाउँपालिका प्राकृतिक, धार्मिक तथा आर्थिक दृष्टिले अत्यन्त रणनीतिक महत्वको क्षेत्र हो ।

रुपन्देही जिल्लाको प्रमुख व्यापारिक केन्द्र बुटवलबाट ५ किमी उत्तर र पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट ३४ किमी दक्षिणमा अवस्थित यस क्षेत्रलाई सिद्धार्थ राजमार्गले बिचबाट काटेको छ । यहाँ प्रसिद्ध सिद्धबाबा मन्दिर, सत्यवती ताल, सुकेताल, नुवाकोट, जितगढी तथा रामापिथेकस क्षेत्र जस्ता ऐतिहासिक एवम् पर्यटकीय स्थलहरू तिनाउ गाउँपालिकाका प्रमुख सम्पति हुन ।

प्रचुर प्राकृतिक स्रोत, कृषि योग्य समथर मैदान र पर्यटकीय सम्भावनाका बाबजुद यहाँ जनघनत्व पातलो हुनुका साथै विकासको गति सुस्त देखिन्छ । तसर्थ, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत शहरी पूर्वाधारको विकास गर्दै तिनाउको समग्र रूपान्तरणका लागि रणनीतिक योजनाको निर्माण र कार्यान्वयन अपरिहार्य देखिन्छ ।

१. पूर्वाधार विकास : सडक सञ्जालको सुदृढीकरण

तिनाउ गाउँपालिकाको विकासमा सबैभन्दा ठूलो बाधक फितलो यातायात पूर्वाधार हो । सिद्धार्थ राजमार्गले यो क्षेत्रलाई छोएर गएपनि, राजमार्ग बाहेक यहाँको अन्य १ किलोमिटर सडक पनि पिच (कालोपत्रे) भएको छैन । न्यून जनघनत्व भएका कारण छरिएर रहेका बस्तीहरूमा यातायातको पहुँच पुग्न सकेको छैन ।

रणनीति : विकासको पहिलो आधार सडक पूर्वाधार हो । रणनीतिक योजना अन्तर्गत प्रत्येक ग्रामीण बस्तीहरूलाई मुख्य राजमार्गसँग जोड्दै बाह्रै महिना गाडी चल्ने पक्की सडक निर्माण गरिनुपर्छ । सडक पुगेपछि मात्र कृषि उत्पादनले बजार पाउँछ र आर्थिक गतिविधि चलायमान हुन्छ ।

२. आर्थिक विकास : कृषि, वन र जडिबुटीको व्यावसायिकरण

तिनाउ प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ । यहाँको अर्थतन्त्रलाई गति दिन उपलब्ध स्रोतको सही उपयोग गर्ने नीति लिनुपर्छ ।

कृषि व्यवसायमा क्रान्ति : परम्परागत खेती प्रणालीलाई विस्थापित गरी आधुनिक र व्यावसायिक कृषिमा जोड दिनुपर्छ । तरकारी खेती, पशुपालन र फलफूल उत्पादनलाई अत्याधिक वृद्धि गरेर स्थानीय स्तरमै व्यापक रोजगारी सिर्जना गर्न सकिन्छ ।

वन र काष्ठकला उद्योग : तिनाउको वन क्षेत्र काठ र अन्य वन पैदावारको धनी छ । यहाँ वनमा आधारित काष्ठकला उद्योगहरू स्थापना गर्न लचिलो नीति ल्याउनु आवश्यक छ, ताकि काठको अवैध निकासी रोकियोस् र स्थानीयले हस्तकलाबाट आम्दानी गर्न सकून् ।

जडिबुटी पहिचान र प्रशोधन : यस क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीहरूको वैज्ञानिक पहिचान, संकलन र स्थानीय स्तरमै प्रशोधन केन्द्र स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गरिनुपर्छ ।

सुनाखरी संरक्षण : तिनाउमा सुनाखरीका धेरै दुर्लभ प्रजातीहरू पाइन्छन् । यी प्रजातीहरूको पहिचान र संरक्षण गरी वनस्पति अनुसन्धान केन्द्रका रूपमा विकास गर्दा पर्यापर्यटनमा समेत टेवा पुग्नेछ ।

३. पर्यटन र पर्यापर्यटनको नयाँ आयाम

रुपन्देही जिल्लाको बुटवल र भैरहवाको गर्मीबाट बच्न तराईका मानिसहरू तत्काल पुग्न सक्ने निकटतम पहाडी क्षेत्र पाल्पाको तिनाउ नै हो । यहाँ पर्यटनको प्रचुर सम्भावना बोकेको पहाडी क्षेत्र हो ।

पूर्वाधार विकास : यहाँका ऐतिहासिक तथा धार्मिक मन्दिरहरू, पहाडी स्टेशनहरू र मनमोहक झरनाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पदमार्ग, भ्यु–टावर र बस्ने व्यवस्था मिलाउनुपर्छ ।

गतिशील पर्यापर्यटन : पर्यावरणलाई असर नपर्ने गरी होमस्टे, ट्रेकिङ र प्रकृति अवलोकन जस्ता नयाँ र गतिशील पर्यापर्यटनका कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ, जसले स्थानीयको आयआर्जन बढाओस् ।

४. सामाजिक विकास : विशेषज्ञ स्वास्थ्य र खेलकुद संस्कृति

पातलो जनघनत्व र भौगोलिक विकटताका कारण यहाँ गुणस्तरीय सामाजिक सेवाको अभाव छ ।

स्वास्थ्य सेवाको विस्तार : सामान्य उपचारका लागि पनि बुटवल वा तानसेन कुद्नुपर्ने बाध्यतालाई अन्त्य गर्न स्थानीय स्वास्थ्य संस्थाहरूमा विशेषज्ञ सेवा उपलब्ध गराउने रणनीतिक योजना हुनुपर्छ ।

खेलकुदलाई विकासको आधार : खेलकुद पर्यापर्यटन र युवा परिचालनको उत्तम माध्यम बन्न सक्छ । यहाँका हरेक स्वास्थ्य तथा सामुदायिक कार्यक्रमहरूलाई समेट्ने गरी ब्याडमिन्टन कोर्ट, भलिबल र क्रिकेट मैदान जस्ता खेल पूर्वाधार बनाउनुपर्छ । खेलकुदलाई तिनाउको पहिचान, संस्कृति र गाउँ विकासको मुख्य आधार मान्दै युवाहरूलाई कुलतबाट जोगाई उत्पादनशील कार्यमा लगाउन सकिन्छ ।

५. सुशासन, जागरण र चुरे संरक्षण

कुनै पनि योजना सफल हुन प्रशासनिक र सामाजिक शुद्धता आवश्यक पर्छ ।

व्यावहारिक सुशासन : तिनाउमा अब कागजी सुशासन (फाइल र गफमा मात्र सिमित) होइन, कामको परिणाम देखिने सुशासन चाहिन्छ । राम्रो कार्य गर्ने कर्मचारी र नागरिकलाई प्रोत्साहन गर्ने तथा गलत कार्य गर्नेलाई कडा दण्डित गर्ने प्रणाली बसाल्नुपर्छ ।

सामाजिक सद्भाव र जागरण : सामाजिक, राजनीतिक र आर्थिक पक्षमा उन्नत विकासका लागि पक्षपोषण गर्दै समाजमा जागरण ल्याउनु आवश्यक छ । यसले समाजमा आपसी सद्भाव, एकता र विकासप्रतिको सामूहिक अपनत्व कायम गर्छ ।

पहिलो प्राथमिकता : तिनाउको तल्लो भाग र चुरे पहाड पर्यावरणीय रूपमा अत्यन्तै संवेदनशील छ । चुरेको दोहनले तराई र पहाड दुवैलाई संकटमा पार्छ । त्यसैले, चुरे क्षेत्रको संरक्षणलाई पहिलो आधार मानी मात्र यहाँ उद्योगधन्दा वा क्रसर उद्योग खोल्ने/सञ्चालन गर्ने कडा नीति तय गरिनुपर्छ ।

निष्कर्ष

तिनाउ क्षेत्र प्राकृतिक रूपमा जति धनी छ, पूर्वाधार र कार्ययोजनाका हिसाबले त्यति नै पछाडि परेको छ । बुटवल र तानसेनको बीचमा हुनु यसको सबैभन्दा ठूलो अवसर हो । रणनीतिक रूपमा बाह्रै महिना चल्ने सडक, वन तथा जडिबुटीमा आधारित लचिलो उद्योग नीति, चुरे संरक्षणमा आधारित विकास, पर्यटन प्रवद्र्धन र परिणाममुखी सुशासन लागू गर्न सक्नुपर्छ, त्यसो गरे सुशासनको क्षेत्रमा तिनाउँ गाउँपालिका देशकै नमुना र समृद्ध हुने निश्चित छ ।

सम्बन्धित समाचार